काठमाडौं, २१ वैशाख । हराएको भनिएको साढे ३३ किलो सुन तस्करीसंग जोडिएका सनम शाक्य हत्या आरोप लागेका ६ जना मध्ये ५ जना अभियुक्तको बयान सकिएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा हत्याका प्रतिवादीमध्ये राजन कुमार, माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीको बयान सकिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
उहाँका अनुसार हत्याकै प्रतिवादी टेकराज मल्ल ठकुरीको बयान पर्सि आइतबारका लागि तोकिएको छ । हत्या आरोप सम्बन्धमा उनीहरुको वयान सकिएपछि आइतवारबाट सुन तस्करीसँग सम्बन्धित थप आरोपितसँग सोधपुछको क्रम सुरु गर्ने श्रेस्तेदार दुलालले बताउनुभयो । काफ्ले, कार्की र ठकुरी सुनका शाक्यको शव बरामद भएसँगै गत वर्षको फागुन १९ गते पक्राउ परेका थिए । उनीहरुको समूहले नै शाक्यलाई कुटपिट र करेन्ट लगाएर यातना दिइ हत्या गरिएको प्रहरीको दाबी छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको टोलीले फागुन १९ गते बा १२ च ५९६३ नम्बर स्कारपियो गाडीमा लुकाएर राखिएको अवस्थामा शाक्यको शव फेला पारेको थियो । यसअघि प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी बुझाएको अभियोगपत्र सहित जिल्ला प्रहरी कार्यालयले अस्ती बुधबार मुद्दा दायर गरेको थियो ।
हिजो देखि सुरु भएको बयान आगामी मंगलबाभित्र सकेर थुनछेक बहस अघि बढाउने तयारी अदालतको छ । ६३ जना प्रतिवादी रहेको यो मुद्दाको अभियोग पत्रमा करीब १७ अर्ब २ करोड रुपैयाँ बराबरको बिगो माग दाबी प्रस्तुत गरिएको छ । साढे ३३ किलो सुन प्रक्ररणमा २९ जना पक्राउ परिसकेका छन् भने सुन तस्करका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीसहित अन्य ३४ जना भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस्