कसरी अमेरिकाले वर्तमान स्थितिको फाइदा उठाउन सक्छ
एक दशक लामो उच्च तनावपछि वाशिङटन र बेइजिङ अहिले अपेक्षाकृत शान्त पानीमा नेभिगेट गर्दै छन्। गत अक्टोबरमा दक्षिण कोरियाको बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबीच व्यापार युद्ध रोक्ने सहमति भएको थियो। उक्त सहमतिले अमेरिकाको नयाँ ट्यारिफ रोकेको थियो भने चीनले अमेरिकी दुर्लभ धातु (रिअर मिनेरल अर्थ) र म्याग्नेटमा लगाएका प्रतिबन्धहरू केही फिर्ता लिएको थियो। यो राहत वास्तविक छ, तर अत्यन्त नाजुक पनि छ।
दुई नेताबीच अर्को भेटवार्ता मूलतः मार्च ३१ मा बेइजिङमा तय भएको थियो, तर इरानमा अमेरिकी युद्धका कारण ट्रम्पले स्थगित गरेका छन्। अब जब उनीहरू भेट्नेछन्, व्यापार युद्ध रोक्ने सहमतिलाई पुनः पुष्टि गर्ने र सम्भवतः थप लम्ब्याउने अपेक्षा गरिएको छ। तर यो सहमति अमेरिका–चीन सम्बन्धका आधारभूत समस्या समाधान गर्ने चाहनाभन्दा बढी दुवै नेताले आफ्नो घरेलु शक्ति सुदृढीकरणका लागि समय किन्ने रणनीतिबाट प्रेरित छ।
आगामी वर्षहरूमा शक्ति सन्तुलन निर्धारण गर्ने कुरा यो अत्यन्त मञ्चित शिखर सम्मेलनमा ट्रम्प र सीले एकअर्कालाई के भन्छन् भन्ने होइन, बरु यो शान्त अवधिमा अमेरिका र चीनले क्रमशः के गर्छन् भन्ने हो। वाशिङटनका लागि काम स्पष्ट छ — यो लुलको उपयोग गरेर चीनमाथिको निर्भरता घटाउने र राष्ट्रिय शक्ति पुनःनिर्माण गर्ने।
खेल शान्त राख्ने रणनीति
एक वर्षअघि वाशिङटन र बेइजिङबीच यस्तो सहमति सम्भव नै देखिँदैन थियो। दोस्रो कार्यकालको सुरुमै ट्रम्पले व्यापार तनाव तीव्र बनाएका थिए र अप्रिल २०२५ मा ट्यारिफ १४५ प्रतिशतसम्म पुर्याएका थिए। तर चीनले आफ्नै तर्फबाट उच्च ट्यारिफ लगाएर र दुर्लभ धातु निर्यात रोक्ने धम्की दिएपछि ट्रम्पले कोर्स उल्टाए। सन् २०२५ को दोस्रो आधामा उनले अझ बढी समझदारीपूर्ण मुद्रा अपनाए — सीको प्रशंसा गर्न थाले, ट्यारिफ घटाए, चीनलाई अमेरिकाको समकक्षी ठाने र मानवअधिकार, साइबर आक्रमण जस्ता संवेदनशील विषयलाई कम महत्व दिएर ‘डिल’ मा जोड दिन थाले।
सेमिकन्डक्टरमा अमेरिकी निर्यात नियन्त्रणलाई पूर्ण रूपमा राष्ट्रिय सुरक्षा कारणले टेबल बाहिर राखिएको थियो, तर त्यसलाई समेत ‘डिलको मीठो’ मेनु बनाइयो। ताइवानको रक्षा गर्ने अडान देखाउनुको साटो ट्रम्पले चीनलाई ताइवान कति महत्वपूर्ण छ भन्ने कुरा स्वीकार गर्न थाले।
ट्रम्पको यो परिवर्तन कम्तीमा चार कारणले भएको देखिन्छः
१. गाजा, इरान, युक्रेन र भेनेजुएलामा परेका विदेशी चुनौती र घरेलु रूपमा महँगी तथा आप्रवासनका दबाब बढ्दै गएका छन्। यति धेरै समस्या भएपछि चीनसँगको सम्बन्धमा अस्थिरता कम गर्नु उनका लागि तर्कसंगत छ।
२. चीनले अमेरिकी आर्थिक दबाबको जवाफमा गम्भीर क्षति पुर्याउन सक्छ भन्ने कुरा ट्रम्पले बुझेका छन्। अप्रिल २०२५ मा ट्यारिफ बढाउँदा चीनले दुर्लभ धातु, क्रिटिकल मिनरल र म्याग्नेट निर्यात हतियार बनाएकोमा प्रशासन स्तब्ध भएको थियो।
३. अमेरिकी मतदाताको भावना पनि परिवर्तन भएको छ। जुलाई २०२५ मा सिकागो काउन्सिलको सर्वेक्षण अनुसार, चीनसँग सैन्य द्वन्द्वबाट बच्नुलाई सबैभन्दा महत्वपूर्ण प्राथमिकता दिइएको थियो। ५३ प्रतिशतले चीनसँग “मैत्रीपूर्ण सहकार्य” गर्नुपर्ने बताएका थिए (२०२४ मा यो अनुमोदन ४० प्रतिशत थियो)।
४. ट्रम्प डिल बनाउन रुचाउँछन्, विशेष गरी सीसँग। उनी चीनसँग स्थिर सम्बन्धलाई व्यापार, टिकटक र फेन्टानिलका रसायनमा नियन्त्रण जस्ता डिलका लागि सबैभन्दा लाभदायक बाटो ठान्छन्।
यो शान्ति स्थायी छैन
ट्रम्प र सीबीचको व्यापार युद्ध रोक्ने सहमति एउटा सज्जनहरूको हात मिलाउने जस्तो मात्र हो। यो दुवै नेताले आर्थिक अन्तरनिर्भरताको वास्तविकता स्वीकार गरेको र द्वन्द्वभन्दा स्थिरता रोजेको भरमा टिकेको छ। दुवै देशले आधारभूत तनावहरू समाधान गरेका छैनन्, केवल स्थगित गरेका छन्।
एकाएक कुनै घटना — ताइवान जलडमरुमा सैनिक घटना, अर्को जासुसी बेलुन प्रकरण वा अमेरिकी निर्वाचनमा चिनियाँ हस्तक्षेपको आरोप — ले यो नाजुक सहमतिलाई तुरुन्त भत्काउन सक्छ।
समयको सदुपयोग गरौं
ट्रम्प र सीबीचको सहमति मूलतः “समय किन्ने” सम्झौता हो। यो समयमा दुवै पक्षले के गर्छन्, त्यसले अमेरिका–चीन प्रतिस्पर्धाको भविष्य र शक्ति सन्तुलन निर्धारण गर्नेछ।
बेइजिङको योजना स्पष्ट छ। मार्चमा पारित नयाँ पञ्चवर्षीय योजनामा विदेशी प्रविधि र आयातमा निर्भरता घटाउने, घरेलु औद्योगिक आधुनिकीकरण र प्राविधिक नवप्रवर्तनलाई तीव्रता दिने उल्लेख छ। चीनले रोबोटिक्स, सिक्सजी, झदयमष्भम बचतषष्अष्ब िष्लतभििष्नभलअभ जस्ता क्षेत्रमा बहुपक्षीय लगानी गरेर उदीयमान प्रविधिमा प्रभुत्व जमाउने लक्ष्य राखेको छ।
अमेरिकाको योजना यति केन्द्रीकृत र स्पष्ट छैन। ट्रम्प प्रशासनले आर्थिक तथा प्राविधिक शक्तिलाई २१औं शताब्दीको राष्ट्रिय सुरक्षाको आधार ठानेको छ। उसले चीनसँगको तनाव घटाएर अमेरिकी उत्पादन क्षमता, विशेष गरी रक्षा उद्योगको पुनर्निर्माणमा ध्यान दिन खोजेको छ।
यदि अमेरिका चीनसँगको प्रतिस्पर्धामा सफल हुन चाहन्छ भने उसले छिटो, स्पष्ट उद्देश्य र दृढताका साथ काम गर्नुपर्छ। क्रिटिकल मिनरल, दुर्लभ धातु र म्याग्नेट जस्ता क्षेत्रबाट चीनमाथिको निर्भरता घटाउनु पहिलो प्राथमिकता हुनुपर्छ। यसका लागि दीर्घकालीन खरिद सम्झौता, घरेलु खानी तथा प्रशोधनको पर्यावरणीय स्वीकृति छिटो दिने, माइन–टु–म्याग्नेट सप्लाई चेन निर्माण गर्ने र स्टकपाइल बनाउने काम गर्नुपर्छ।
रक्षा क्षमता मजबुत बनाउन खरिद प्रक्रिया सरल बनाउने, जहाज निर्माण र गोला–बारुद उत्पादनमा जनशक्ति विकास गर्ने, सहयोगी देशहरूलाई आफ्नो रक्षा बोझ बढाउन दबाब दिने काम गर्नुपर्छ। तर यसका लागि ट्रम्पले ग्रिनल्याण्ड, इरान वा भेनेजुएलामा कम ध्यान दिनुपर्नेछ।
निष्कर्ष
ट्रम्प र सीबीचको यो सामरिक शान्ति अवधि दुवैका लागि समय किन्ने अवसर हो। चीनले यो समय आफ्ना कमजोरी घटाउने र फाइदा बढाउने काममा लगाइरहेको छ। वाशिङटनले पनि यही तत्परता देखाउनुपर्छ। महँगो विदेशी द्वन्द्वबाट बाहिर निस्कने, सप्लाई चेन सुरक्षित गर्ने, औद्योगिक उत्पादन बढाउने र नवप्रवर्तनलाई प्रोत्साहन दिने नीति अघि बढाउने हो भने मात्र अमेरिकाले अमेरिका–चीन सम्बन्धको अर्को अध्यायमा अनुकूल शर्तहरू माग्न सक्नेछ।
फरेन अफेयर्सबाट, मार्च २०, २०२६
(रायन हास ब्रुकिङ्स इन्स्टिच्युटमा सिनियर फेलो, जोन एल। थर्नटन चीन सेन्टरका निर्देशक तथा ताइवान अध्ययनका चेन–फु एन्ड सेसिलिया येन कु कुर्सीका अध्यक्ष हुन्। सन् २०१३ देखि २०१७ सम्म उनले अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्मा चीन, ताइवान र मंगोलिया मामिला निर्देशकको जिम्मेवारी सम्हालेका थिए।)








प्रतिक्रिया दिनुहोस्