राष्ट्रपति डरद्वारा शासन गर्छन्, यदि मानिसहरू डराउँदैनन भने के हुन्छ ?
म्याकियाभेलीले भनेका थिए –डराउने र माया गर्ने दुबै हुनु उत्तम हो, यदि यी दुईमध्ये एउटा छान्नुपर्छ भने डर नै सुरक्षित हुन्छ । उनको कारणः “मूल्य“ तिरेर प्राप्त गरिएका मित्रताहरू, “महानता र उदारतापूर्ण भावना“बिना, कठिन समयमा विश्वसनीय हुँदैनन्।
डोनाल्ड ट्रम्पले यो बुझ्छन्। २०१६ मा बब वुडवर्ड र रबर्ट कोस्टालाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, “वास्तविक शक्ति भनेको (म यो शब्द प्रयोग गर्न पनि चाहँदिन) डर हो ।“
उनले इच्छा पुरा गराउन डर सिर्जना गर्ने उनको प्रमुख रणनीति हो। यदि धम्कीले काम गर्दैन भने, उनी कमजोर व्यक्तिहरू र संस्थाहरूमाथि कारबाही गर्छन्, तिनलाई उदाहरण बनाएर अरूलाई आज्ञापालन गराउँछन्।
ट्रम्पको दोस्रो कार्यकालको शुरुवाती महिनाहरूमा यो रणनीति अत्यन्तै सफल रहेको छ। कोलम्बिया विश्वविद्यालयलाई संघीय अनुदान रोक्ने धम्कीले धेरै धनी विश्वविद्यालयहरूलाई झुकाएको छ। उनको नीतिविरुद्ध काम गर्ने ग्राहक भएका कानूनी फर्महरूलाई सरकारी सुरक्षा अनुमति, संघीय भवनमा प्रवेश र सरकारी ठेक्का रोक्ने धम्कीले ती फर्मका अगुवाहरुलाई उनको माग मान्न बाध्य बनाएको छ। मागा समूहले रिपब्लिकन कानूननिर्माताहरूलाई प्राथमिक निर्वाचनको धम्की दिएर ट्रम्पको नीति वा नामांकन विरोध गर्न डराउने बनाएको छ। प्रशासनसँगको पूर्ण प्रभाव गुमाउने डरले ट्रम्पको ट्यारिफ विरोधी व्यवसायी नेताहरू र सरकारी अधिकारीहरूले मुख बन्द गरेका छन्।
तर डर रणनीतिको प्रभावकारिताको सीमा छ। भियतनाम जस्ता साना देशहरूले ट्रम्पको ट्यारिफबाट बच्न सहुलियत दिने इच्छा देखाए पनि चीन र क्यानाडा जस्ता ठूला देशहरूले प्रतिकारात्मक कदम चालेका छन्, युरोपियन युनियनले पनि दृढ प्रतिक्रियाको तयारी गरिरहेको छ।
धम्कीप्रतिको प्रतिरोध प्रायः गर्व र भौतिक स्वार्थद्वारा प्रेरित हुन्छ। ट्रम्पले ग्रीनल्याण्ड “एक वा अर्को तरिकाले“ कब्जा गर्ने चेतावनीले केवल ६० लाख जनसंख्या भएको डेनमार्कलाई त्रसित बनाउन सकेको छैन। क्यानाडा “५१औँ राज्य“ बन्नुपर्छ भन्ने उनको जिद्धीले क्यानाडाका विभिन्न राजनीतिक विचारधाराका मानिसहरूमा राष्ट्रवादी रोष जगाएको छ।
जब धम्की प्राप्त व्यक्ति वा संस्थाले नैतिक र भौतिक रूपमा आज्ञापालनको मूल्य फाइदाभन्दा बढी देख्छ भने प्रतिरोध बढ्ने सम्भावना हुन्छ। क्लिन्टन र ओबामा प्रशासनका पूर्व अधिकारी तथा २००१–२००६ सम्म हार्वर्ड विश्वविद्यालयका अध्यक्ष ल्यारी समर्सले हालैको एक लेखमा हार्वर्डलाई आफ्नो ५० बिलियन डलरको सम्पत्तिको केही भाग ट्रम्प प्रशासनले धम्काएको अनुदान कटौतीको क्षतिपूर्ति स्वरुप प्रयोग गर्न आग्रह गरे। समर्सले सोधेका छन्, “यदि हार्वर्ड जस्तो विशाल वित्तीय स्रोत, प्रतिष्ठा र प्रभावशाली पूर्वविद्यार्थी नेटवर्क भएको संस्थाले सरकारी शक्तिको मनोमानी प्रयोगलाई रोक्न सक्दैन भने अरु कसले सक्छ? प्रतिरोध बिना कानूनको शासनको रक्षा कसले गर्छ?“ उनले विश्वविद्यालयहरूले यहूदीविरोधी, पहिचान राजनीतिको अतिरिक्त र स्वतन्त्र अभिव्यक्तिको सीमा जस्ता विषयहरूमा निर्दोष नभएको स्वीकारे पनि ट्रम्प प्रशासनको राजनीतिक प्रेरित धम्की वा विश्वविद्यालयहरूको आत्मसमर्पणलाई यसले न्यायोचित नठहराउने बताएका छन् ।
जब डरले आफ्नो शक्ति गुमाउँछ, पीडितहरूको प्रतिक्रिया निर्मम हुन सक्छः मुसोलिनी, गद्दाफी र चाउसेस्कु जस्ता तानाशाहहरूको भाग्य हेर्नुहोस्, जो आफ्नै आक्रोशित जनताद्वारा मारिए। यदि ट्रम्पको ट्यारिफले मूल्य बढाउँछ, वृद्धि ढिलो पार्छ र बेरोजगारी बढाउँछ भने उनको समर्थन गर्ने रिपब्लिकनहरूले आफूले विश्वास नगरेको नीतिलाई दबाबमा समर्थन गरेको आक्रोश प्रकट गर्दै उनीप्रतिको एकता भङ्ग गर्न सक्छन्।
इलन मस्कको सरकारी कार्यक्षमता विभागको नेतृत्वले प्रविधि समुदायका धेरैलाई आश्चर्यचकित पारेको छ, तर धेरैले भन्न डराइरहेका छन्। मस्क र ट्रम्पको पछि उभिएका उद्योगपति नेताहरूको दृश्यले तिनलाई मौन बनाएको छ।
तर डर दुईधारे तरवार हो। म्याकियाभेलीले आफ्नो पुस्तक “द प्रिन्स“मा ड्युक भ्यालेन्टिनोको कथा सुनाएका थिए, जसले रोमाग्ना जिते तर यसलाई शासन गर्न गाह्रो भएको थाहा पाए । उनले त्यसपछि क्रूर तर सक्षम रेमिरो डी ओर्कोलाई “पूर्ण शक्ति“ दिए । रेमिरोले अराजकतालाई दबाए, तर उनको रणनीतिले उनलाई थप घृणित बनायो। यी अत्याचारहरू आफ्नो “कठोर मन्त्री“ बाट भएको हो भनेर जनतालाई देखाउन ड्युकले रेमिरोलाई दुई टुक्रा पारेर सार्वजनिक चौकमा प्रदर्शन गरेका थिए ।
पोलिटिकोले ट्रम्पले आफ्ना नजिकका सहयोगीहरूलाई बढ्दो अल्पप्रिय इलन मस्कले चाँडै प्रशासन छोड्ने रिपोर्ट प्रकाशन गरेको छ। मस्कले राष्ट्रपतिका वरिष्ठ व्यापार सल्लाहकार पिटर नभारोको आलोचना गरे तर मुक्त व्यापारलाई समर्थन गरेका छन् । कमसेकम मस्क आफ्नो शरीर सहित बच्न सक्छन्, यद्यपि उनको सम्पत्ति र प्रतिष्ठा बच्दैन भने पनि । निजी क्षेत्रमा फर्किएपछि उनले धेरै कर्पोरेट नेताहरूबाट प्रतिकूल स्वागत पाउने आशा गर्न सक्छन्।
यस्तै कारणले गर्दा, राष्ट्रपति ट्रम्पले डरमा आधारित शासन रणनीतिको प्रतिक्रियाबाट डराउनुपर्छ।
द वालस्ट्रिट जर्नल, अप्रिल ८, २०२५,
(यो राष्ट्रपति ट्रम्प निकट र विश्व मिडिया टाइकुन रुपर्ट मुडर्क समूहद्धारा सञ्चालित प्रकाशन हो । यही समूहले फक्स न्यूज च्यानल पनि चलाइरहेको छ।)








प्रतिक्रिया दिनुहोस्