राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश पाहुनाका रुपमा इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको भेटअघि एउटा विवादास्पद प्रस्ताव अघि सारेका थिए । दुई साताभित्र तीन पटक उनले प्यालेस्टिनीहरूलाई गाजाबाट इजिप्ट र जोर्डन स्थानान्तरण गर्न सकिने संकेत गरेका थिए।[1] यही अभिव्यक्तिलाई ट्रम्पले औपचारिक रुपमा नेतान्याहुलाई साथमा राखेर गाजामा अमेरिकी नियन्त्रण र निवासीहरूको स्थायी विस्थापनको प्रस्ताव राखेका छन् ।
ट्रम्पले स्पष्टै रुपमा भनेका छन्ः गाजा क्षेत्रमा अमेरिकाको दीर्घकालीन नियन्त्रण र त्यहाँका निवासीहरूलाई अर्को देशमा सार्ने प्रस्ताव राखेका छन्। यसले फिलिस्तीनिहरूको ऐतिहासिक विस्थापनलाई दोहोर्याउने आशंकाले क्षेत्रमा तनाव बढाउने देखिन्छ। ट्रम्पको यो प्रस्तावले उनको मध्यपूर्वमा थप अराजकता सिर्जना गर्ने निश्चित छ ।
उनले तिनीहरूको स्थायी पुनस्र्थापनाका लागि “मानवीय भावना भएका रुचि राख्ने देशहरू“ द्वारा वित्त पोषित गरेर एक वा बढी स्थानहरूमा सार्ने कुरा गरेका छन् । जब उनले इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनका लागि स्वागत गरिरहेका थिए, ट्रम्पले भने उनले गाजाको अवस्था अध्ययन गरिसकेका छन् र यसलाई कब्जा गरी विकास गर्ने आफ्नो विचारलाई “उच्चतम नेतृत्व“ बाट “अत्यधिक“ समर्थन प्राप्त भएको छ। उनले यसलाई मध्यपूर्वमा शान्ति ल्याउने व्यवहारिक योजना भएको दावी गरेका छन्। ट्रम्पले यसो भनिरहँदा सँगै उभिएका नेतान्याहु प्रफुल्लित मुद्रामा भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

ट्रम्प–नेतान्याहु पत्रकार सम्मेलन
ट्रम्पले गाजा क्षेत्रमा अमेरिकाको “दीर्घकालीन स्वामित्व“ हुने र युद्धबाट ध्वस्त भएको गाजालाई अमेरिकी नियन्त्रणमा पुनर्निर्माण गर्दै निवासीहरूलाई अर्को देशको “राम्रो, सुहाउँदो भूभाग“मा सार्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई “सफा गर्ने“ र सम्पूर्ण प्यालेस्टिनी जनसङ्ख्यालाई छिमेकी जोर्डन र इजिप्टमा सार्ने आफ्नो प्रस्तावलाई दोहो¥याएपछि प्यालेस्टिनीहरू, मध्यपूर्वका धेरै राष्ट्रहरू र अमेरिकी डेमोक्र्याटहरूबाट कडा विरोभ भने जन्माएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा, ट्रम्पले गाजालाई “ध्वस्त भएको क्षेत्र“ भनेर उल्लेख गर्दै प्यालेस्टिनीहरू “आफ्नो मातृभूमिबाट विस्थापित हुन खुसी हुने“ दाबी समेत गर्न पुगे । “गाजा कहिल्यै सफल भएको छैन, यसले कहिल्यै काम गरेको छैन,“ उनले भने।
संयुक्त राष्ट्रसंघका अनुसार जोर्डनमा पहिले नै २३लखा ९० हजार भन्दा बढी प्यालेस्टिनी शरणार्थीहरू रहेका छन्। इजरायली प्रधानमन्त्री बाहेकका अन्य अधिकारीहरूले पनि ट्रम्पको प्रस्तावलाई समर्थन गरेका छन् । यो प्रस्तावको जोर्डन र इजिप्टसहित धेरै अरब देशहरूले भने कडा विरोध गरेका छन् । प्यालेस्टिनी समूहहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले यसलाई जबरजस्ती विस्थापनको रूपमा निन्दा गर्दै आएका छन्। शनिबार, इजिप्ट र जोर्डन सहितका अरब राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रम्पको प्रस्तावको औपचारिक अस्वीकृति जनाइसकेका छन् ।
ट्रम्प र नेतान्याहुले यस प्रस्तावलाई गम्भीर रूपमा लिएका छन् भने, र झनै यदि यो कार्यान्वयनमा आयो भने, यसले क्षेत्रीय इस्राएली विरोधलाई बढाउनेछ र अमेरिकी मध्यस्थतामा भइरहेको इजरायल–साउदी सम्बन्ध सुधारका सम्भावनालाई टाढा धकेल्नेछ। हालै साउदी नेतृत्वले गाजामा इजरायली कारबाहीलाई ’जनसंहार’ को संज्ञा दिएको छ[2] र इजरायलसँग सम्बन्ध सामान्यीकरणका लागि प्यालेस्टिनी राज्य स्थापनाको शर्त राखेको छ। नैतिक रूपमा हेर्दा यो जनसंख्या विस्थापन योजना आपत्तिजनक मात्र होइन, यसले निकट भविष्यमा अमेरिका–इजरायल–साउदी सम्झौताका ढोका बन्द गर्न सक्छ।(3)
ट्रम्पले यो प्रस्ताव अघि सारेपछि त्यसको प्रतिक्रिया हेर्दै कुनै लाभ उठाउन सक्ने सोचिएको हुनसक्छ।
गाजामा इजरायल–हमास युद्धका कारण अकल्पनीय विनाश भएको छ। अक्टोबर ७, २०२३ को हमास आक्रमणपछि इजरायलले ४७ हजार भन्दा बढी प्यालेस्टिनीहरूको हत्या गरेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार इजरायली बमबारीका कारण १९ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। गत जनवरी १९ देखि युद्धविराम कायम छ। मंगलबार, नेतान्याहुसँगको भेटपछि ट्रम्पले गाजालाई लिएर आफू “आवश्यक पर्ने जे गर्नुपर्छ त्यो गर्न तयार“ रहेको चेतावनी दिएका छन् । “हामी त्यो क्षेत्रलाई विकास गर्नेछौं, हजारौं रोजगारी सिर्जना गर्नेछौं, जसले सम्पूर्ण मध्यपूर्वलाई गर्व गर्ने केही दिन्छ,“ उनले घमण्डका साथ बताएका छन् । जब एक पत्रकारले सो क्षेत्रमा अमेरिकी कब्जाको सम्भावना बारे प्रश्न गर्दा ट्रम्पले दाबी गर्दै भने “मेरो सम्पर्कमा आएका सबैलाई अमेरिकाले त्यो भूमि लिनु राम्रो लाग्छ।“
ट्रम्पले जोर्डन र इजिप्टले प्यालेस्टिनी शरणार्थीहरू स्वीकार गर्न तयार हुनेमा आफू विश्वस्त रहेको बताएर थप विवाद निम्त्याएका छन् ।
सोही पत्रकार सम्मेलनमा भेनेजुएलामा निर्वासनको दबाब र पानामाले चीनसँगको सम्झौता नविकरण गर्न अस्वीकार गरेको उदाहरण समेत दिए। उनले गाजालाई “अस्वस्थ, असुरक्षित र बस्न अयोग्य“ क्षेत्रको रूपमा चित्रित गरे। “मलाई थाहा छैन कसरी उनीहरू त्यहाँ बस्न चाहन्छन्। यो त ध्वंसस्थल मात्र हो।“ ट्रम्पले जोर्डन र इजिप्टलाई अमेरिकी आर्थिक सहयोग प्रदान गरिने छैन भन्ने चेतावनी समेत दिए । तर अन्य अरब राष्ट्रहरूबाट रकम जुटाउन सकिने बताएर उनले के संकेत गर्न खोजेका हुन् भन्ने स्पष्ट छैन । प्यालेस्टिनी नेताहरूले यो प्रस्तावलाई मानव अधिकारको गम्भीर उल्लङ्घन भन्दै खारेज गरेका छन्। प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पीएलओ) का कार्यकारी समितिका सदस्य फैसल अरान्कीले जबरजस्ती विस्थापनले थप द्वन्द्व निम्त्याउने चेतावनी दिए(न्यूजविक, ५ फेब्रुवरी, २०२५।
ट्रम्पको घोषणालाई इजरायली प्रधानमन्त्री नेतान्याहुले “इतिहास बदल्ने प्रस्ताव“ भन्दै स्वागत गरे लगत्रै जोर्डन र इजिप्टका नेताहरूले प्यालेस्टिनीहरूको विस्थापन अस्वीकार्य भएको पुनः दोहोर्याएका छन्। जोर्डनका विदेशमन्त्री अयमान अल–सफादीले “विस्थापन अस्वीकार्य मात्र होइन, यसले सुरक्षा र स्थायित्वलाई कमजोर पार्छ“ भनेका छन् । मानव अधिकारकर्मी केनेथ रोथले ट्रम्पको प्रस्तावलाई “युद्ध अपराध“ को रूपमा चित्रण गरेका छन् र यदि अमेरिकी हतियार प्रयोग भएमा ट्रम्प आफैंलाई पनि जिम्मेवार ठहर्याउन सकिने बताएका छन्(वालस्ट्रिट जर्नल, ५फेब्रुवरी, २०१५।
ट्रम्पको प्रस्तावले गाजाका २२ लाख निवासीहरूलाई फिलिस्तिनी भूभागबाट स्थायी रूपमै हटाउने उद्ध्श्य राखेको छ । अमेरिकी राजनीतिक अधिकारीहरुले दशकौंसमाधान नगरेको जटिल विवादलाई आफ्नो “अहंकारी“ नीतिबाट समाधान गर्ने प्रयासको रूपमा ट्रम्पले अघि सारेको वाशिंगटन पोष्टले उल्लेख गरेको छ । तर, फिलिस्तिनीहरूले चाहनालाई ट्रम्पले पूर्णरुपमा नजरअन्दाज गरेका छन् । गाजाका निवासीहरू आफ्नो भूमिमा बस्न चाहन्छन्, र छिमेकी अरब राष्ट्रहरूले पनि फिलिस्तिनीहरूलाई बेपत्ता पार्न मद्दत गर्ने कुरालाई अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पले गाजावासीहरूको लागि नयाँ भूभाग कहाँ पाइन्छ भन्ने बारेमा भने केही स्पष्ट गरेका छ्रैनन् । तर उनले इजिप्ट र जोर्डनले गाजावासीहरूलाई आतिथ्य दिनुपर्छ भन्ने आफ्नो पुरानै धारणा दोहराएका छन् । उनले गाजा छोड्न नचाहनेहरूको विषय वा जबरजस्ती विस्थापनको व्यावहारिकतालाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा भने पत्रकार सम्मेलनमा केही बताएका थिएनन् ।
ट्रम्पले भनेका छन् “म दीर्घकालीन स्वामित्व देख्छु र यसले मध्यपूर्व, सम्भवतः पूरै मध्यपूर्वलाई स्थिरता दिनेछ।“ अमेरिकी सेनाले गाजा कब्जा गर्ने प्रश्नमा उनले “आवश्यक भएजति गर्नेछौं… हामी यसलाई लिनेछौं र विकास गर्नेछौं“ भन्न समेत पछि परेनन् । ट्रम्पले गाजाको भविष्यमा फिलिस्तिनीहरूलाई ठाउँ नदेखेको भन्दै : “गाजाले कहिल्यै काम गरेको छैन… उनीहरूले नयाँ, सुन्दर भूभाग पाउनुपर्छ।“ उनले गाजालाई पटक पटक “नरक“ भन्ने शव्दले चिनाउन कोशिश गरेका थिए । लगत्तै इजिप्ट र टर्कीले यसको विरोध गर्दै संयुक्त बक्तव्य जारी गरेका छन्।
ट्रम्पसँगै पत्रकार सम्मेलनमा बसेका नेतन्याहूले यो विचारप्रति खुल्ला दृष्टिकोणका साथ मुस्कुराउँदै भने “ट्रम्पले त्यो भूभागको लागि फरक भविष्य देख्नुभएको छ… यसले इतिहास बदल्न सक्छ।“(वाशिंगटन पोष्ट, ५ फ्रेबुवरी) ।
ट्रम्प र नेतन्याहूबीचको सम्वन्ध जटिलखालको भएपनि, नेतन्याहूले ट्रम्पलाई प्रशंसा गर्दै भने, “तपाईंले अरूले नभनेका कुरा भन्नुहुन्छ… तर तपाईं सही हुनुहुन्छ।“
बाइडेन प्रशासनले गाजा पुनर्निर्माणमा बारेम गोप्य रुपमा गर्न खोजेको नीीतलाई ट्रम्पको खुला रुपमा अघि सारेका छन्
प्यालेस्टिनी सामूहिक सम्झनामा विस्थापन र जनसंख्या स्थानान्तरणसँग सम्बन्धित त्रासदीपूर्ण अनुभूति रहेको छ। यही इतिहासका कारण गाजा पुनःनिर्माण गर्न उनीहरूको दृढ संकल्प देखिन्छ, र यही कारणले गर्दा यो प्रस्तावको तीव्र आलोचना भइरहेको छ ।
यदि ट्रम्प र नेतान्याहुले यस प्रस्तावलाई गम्भीर रूपमा लिएका छन् भने, र झनै यदि यो कार्यान्वयनमा आयो भने, यसले क्षेत्रीय इस्राएली विरोधलाई बढाउनेछ र अमेरिकी मध्यस्थतामा भइरहेको इजरायल–साउदी सम्बन्ध सुधारका सम्भावनालाई टाढा धकेल्नेछ। हालै साउदी नेतृत्वले गाजामा इजरायली कारबाहीलाई ’जनसंहार’ को संज्ञा दिएको छ[2] र इजरायलसँग सम्बन्ध सामान्यीकरणका लागि प्यालेस्टिनी राज्य स्थापनाको शर्त राखेको छ। नैतिक रूपमा हेर्दा यो जनसंख्या विस्थापन योजना आपत्तिजनक मात्र होइन, यसले निकट भविष्यमा अमेरिका–इजरायल–साउदी सम्झौताका ढोका बन्द गर्न सक्छ।(3)
ट्रम्पले यो प्रस्ताव अघि सारेपछि त्यसको प्रतिक्रिया हेर्दै कुनै लाभ उठाउन सक्ने सोचिएको हुनसक्छ। उनले अरब शासकहरूलाई राजनीतिक बार्गेनिङमा तान्न सकिन्छ भन्ने विश्वास गरेका हुनसक्छन् । नेतान्याहुका लागि यो योजना उनको गठबन्धन सरकारका दक्षिणपन्थी सहयोगीहरूलाई आकर्षित गर्ने एक रणनीति हुनसक्छ। तर यो लाभ धेरै समय टिक्ने देखिँदैन।
ट्रम्पको प्रस्ताव वासिङ्टनको मध्यपूर्व सम्बन्धी भ्रमहरूको लामो सूचीमा थपिएको छ— इजरायललाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दा पनि समर्थन गर्नाले शान्ति स्थापना हुन्छ वा, प्यालेस्टिनी प्रतिरोधलाई सैनिक बल प्रयोग गरेर दबाउन सकिन्छ, र वा इजरायललाई अरब राष्ट्रहरूसँग सामान्यीकरण गराउनु नै समाधान हो।
“गाजा समुद्रले निलिदिए राम्रो हुन्थ्यो, तर त्यो असम्भव छ,” १९९२ मा तत्कालीन इजरायली प्रधानमन्त्री यित्झाक राबिनको भनाईले इजरायलको राजनीतिक–सैनिक नेतृत्वले गाजा पट्टी र त्यहाँका जनताप्रति लामो समयदेखि राखेको विशेष तिरस्कारलाई प्रकट गर्ने भनाई हो ।

पाँच वाट लगातार युद्ध (२००९, २०१२, २०१४, २०२१, र २०२२) का राजनीतिक र सामाजिक परिणामहरू बिर्सिएर २०२३ अक्टोबर ७ को घटनाको विश्लेषण गरिनु आफैमा विडम्वनापूर्ण तर्क हो। जुन—युद्धहरूले सयौं परिवारहरू सखाप बनाएको थियो। त्यसअघिको लामो उपनिवेशवादी कालखण्डले प्यालेस्टिनी समाजलाई विभाजित गरेकै थियो।
गाजामाथि इजरायलको पछिल्ला दुई दशकको आक्रमढा एक फराकिलो राजनीतिक परियोजनाको अंशका रुपमा १९४८ को नक्बा र त्यसअघिदेखि नै निरन्तर रुपले ऐतिहासिक प्यालेस्टाइनबाट प्यालेस्टिनी अस्तित्वलाई हटाउने बृहत परियोनना हो। इजरायलले असहाय नागरिक, धार्मिक स्थलहरू, स्वास्थ्य सेवा र शैक्षिक संस्थाहरूमा आक्रमण गरेर सामूहिक भोकमरी र रोग र लाशको खात लगाइरहनुले गाजा खाली गर्ने उसक बहृत अमानवीय षडयन्त्रकारी परियोजनालाई आम रुपले बुझिने गरी सतहमा ल्याएको नियतलाई राष्ट्रपति ट्रम्पको धम्कीबाट सार्वजनिक गरिएको छ ।
इजरायली नाकाबन्दी र बमबारीबाट घाइतेहरूलाई उपचार गरिरहेका प्यालेस्टिनी सर्जन घासान अबु सित्ताले दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा दायर मुद्दामा प्रमाण दिएका थिए, यो कुनै साधारण युद्ध होइन, यसको उद्देश्य गाजालाई बस्नयोग्य बनाउन नदिनु हो” भन्ने अवलोकनमा मात्र रोकिएनन् ।
यो निरन्तर नक्बाको प्रभाव केवल गाजावासीहरूमा मात्र सीमित छैन, यो पश्चिमी किनार (वेस्ट बैंक) का प्यालेस्टिनीहरू, जेरुसेलम निवासीहरू, र इजरायलभित्रका प्यालेस्टिनी नागरिकहरूमाथि पनि लक्षित छ । इजरायलको अहिलेको कार्यलाई कुनै विशेष ‘अत्यधिक’ क्रूरता वा स्थापित जियोनिस्ट अभ्यासबाट अचानक भएको विचलनका रूपमा मात्र हेर्नु दिउँसै रात पार्नु सरह हो । अमेरिका समर्थित इजरायली नरसंहारलाई व्यापक ऐतिहासिक सन्दर्भमा राखेर बुझ्नु आवश्यक छ । त्यसको सम्भवत अन्तिम विस्फोटका रुपमा जनसंख्या “स्थानान्तरण” तथा विस्थापनलाई अघि सारिएको मान्न सकिन्छ । यो पहिलेदेखि नै विद्यमान जियोनिस्ट सिद्धान्त र राज्य अभ्याससँग समानार्थी परियोजना हो ।
हालको परिस्थितिमा जनसंख्या विस्थापनको प्रस्तावलाई हल्का रूपमा लिन सकिँदैन। यसले केवल विगतका विभाजन र विस्थापनको इतिहासलाई मात्र सम्झाउँदैन, हालको अवस्थालाई झनै खराब बनाउँछ। अक्टोबर ७ पछि इजरायलले गाजामा सैन्य कारबाही बढाउँदै गर्दा प्यालेस्टिनीहरूलाई इजिप्ट स्थानान्तरण गर्ने योजनाहरू बाहिर आएका थिए, जसलाई नेतान्याहुले पछि खारेज गरेको बताए।(4)
ट्रम्पका पछिल्ला टिप्पणीहरूपछि इजरायली वित्तमन्त्री बेजालेल स्मोट्रिचले प्यालेस्टिनी स्थानान्तरणको “कार्यान्वयन योजना“ पेश गर्ने घोषणा गरेका छन्। गाजालाई पुनः इजरायली बस्ती बसाउने उनको योजना स्पष्ट छ।
यो विस्थापन योजना केवल गाजासम्म सीमित छैन। इजरायलले वेस्ट बैंकमा आफ्नो सैनिक गतिविधि बढाइरहेको छ, र धेरै दक्षिणपन्थी इजरायली नेताहरूले जोर्डनलाई वेस्ट बैंकका प्यालेस्टिनीहरूको गन्तव्यका रूपमा हेर्ने गरेका छन्।
यसले इजरायलका लागि कुनै सुरक्षाको प्रत्याभूति दिने छैन। बरु, यो योजनाले इजिप्ट र जोर्डनलाई अस्थिर बनाउनेछ र क्षेत्रीय प्रतिरोध आन्दोलनहरूलाई झनै उक्साउनेछ।(5)
जियोनिस्ट विचारधारामा “स्थानान्तरण” को सबैभन्दा स्पष्ट र व्यापक प्यालेस्टिनी विवरण प्रोफेसर नूर मसाल्हाको १९९२ मा प्रकाशित महत्वपूर्ण पुस्तक ‘एक्सपल्सन अफ द प्यालेस्टेनियन्सः द कन्सेप्ट अफ ट्रान्सफर इन जियोनिष्ट पोलिटिकल थत १८८२–१९४८’ ले विस्तृत रुपमा प्रकाश पारेको छ । इजरायली राज्य अभिलेखहरूको विश्लेषण्का आधारमा मसाल्हाले १८८० को दशकदेखि नै जियोनिस्टहरूले प्यालेस्टिनीहरूलाई स्थानान्तरण र निष्कासन गर्ने योजनाहरू अघि सारेको दृष्ट्रान्त प्रस्तुत गरेका छन्।
विस्थापन परियोजना १९४८ देखि १९६७ को युद्धपछि, इजरायली सरकारका अधिकारीहरुलेस्थानान्तरणका सम्भावित गन्तव्यहरूका रुपमा सिनाइ मरुभूमि र छिमेकी अरब राष्ट्रहरूका बारेमा समेत छलफल गरेका थिए । १९६७ को युद्धपछि इजरायली रक्षा बल को दक्षिणी कमान्ड प्रमुख (पछि प्रधानमन्त्री बनेका) एरियल श्यारोनले शरणार्थी शिविरहरूको संख्यालाई घटाएर वा हटाएर गाजा पट्टीको शरणार्थी समस्याको समाधान गर्ने भन्ने तिकडम कार्यान्वयन गर्न खोजेका थिए ।
घर बस्तीहरूको विभत्स तरिका विध्वंस गर्ने कार्यलाई संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (इनरुवा) समक्ष सडक चौडा पार्ने, गस्ती सुधार गर्ने, र पानी तथा विद्युत् आपूर्ति व्यवस्थापन गर्ने जस्ता बहानामा उचित ठहराइएको थियो । यही वाहनामा १९७१ मा करिब २ हजार घरहरू भत्काइए र १६ हजार भन्दा बढी नागरिकलाई विस्थापित गरियो । ती मध्ये केहीलाई सिनाइ मरुभूमितर्फ पठाइएको थियो । २०००–२००४ को अवधिमा इजरायली सेनाले दक्षिणी गाजामा (मुख्यतः राफाह क्षेत्रमा) २५ सय भन्दा बढी घरहरू भत्काएर इजिप्टसँगको सिमानामा पर्खाल लगाउने कोशिश गरेको थियो ।
हालै सार्वजनिक गरिएका गोप्य दस्तावेजहरूले प्यालेस्टीनी नागरिकको निष्कासनको लक्ष्य इजरायली नीतिको केन्द्रीय भाग हो । इजरायल भूमि प्रशासनका उपमहानिर्देशक रेउभेन अलोनीले इजरायलका प्यालेस्टिनी नागरिकहरूलाई संकेत गर्दै भनेका थिएः “एक दिन आउनेछ—अर्को दश, पन्ध्र, वा बीस वर्षमा…जब मुख्य समाधान नै अरबहरूको स्थानान्तरण हुनेछ। मलाई लाग्छ, हामीले यसलाई अन्तिम लक्ष्यको रूपमा विचार गर्नुपर्छ।”
इजरायलले यस स्थानान्तरण र विस्थापनलाई विभिन्न बहानामा न्यायोचित ठहराउँदै आएको छ। उदाहरणका लागि, हब्रोनको किर्यात अर्बा बस्तीलाई सुरक्षाका लागि आवश्यक भन्दै उचित ठहराइयो । जुलाई १९७३ मा टाइम पत्रिकालाई दिएको अन्तर्वार्तामा, तत्कालीन रक्षा मन्त्री मोशे दायानले भनेका थिएः “अब प्यालेस्टाइन छैन। यो समाप्त भयो।” १९९४ फेब्रुअरीको बारुच गोल्डस्टीन हत्याकाण्डपछि लागू गरिएका उपायहरू—शहरलाई एच१ र एच२ क्षेत्रहरूमा विभाजन गर्नु, चेकपोइन्टहरू, बाधाहरू, र बन्द सैन्य क्षेत्रहरू लागू गर्ने जस्ता सवै हर्कतहरु इजरायलको विस्थापन नीतिको निरन्तरता हो।
पश्चिमी किनार (वेस्ट बैंक) र जोर्डन उपत्यकामा पनि इजरायली सेनाले अस्थायी रूपमा मानिसहरूलाई हटाउने रणनीति अपनाएको छ। पश्चिमी किनारको यो क्षेत्रलाई इजरायलमा विलय गर्नु हो। १९८२ को लेबनान आक्रमणसम्बन्धी सार्वजनिक गरिएका दस्तावेजहरुमा सार्वजनिक तथ्यहरुले तत्कालीन इजरायली प्रधानमन्त्री मेनाखेम बेगिन र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले प्यालेस्टिनी शरणार्थीहरूको भविष्यबारे छलफल गर्र्दा बेगिनले तिनलाई लिबिया, इराक, वा सिरियातर्फ स्थानान्तरण गर्ने प्रस्ताव गरेका थिए । रेगनले तिनलाई लेबनानी नागरिकता दिने प्रस्ताव गरेका थिए । यसरी अमेरिकी र इजरायली प्रशासनको लक्ष्य भने सधैं एउटै थियो—प्यालेष्टिनीहरुको पूर्ण विस्थापन । रेगनको नीतिलाई ट्रम्पले खुला रुपले वकालत गर्न आइपुगेका छन् ।
ट्रम्पको बयान केवल सामान्य उक्साहट मात्र हो कि वास्तवमै कार्यान्वयन गर्ने योजना हो, त्यो अझै स्पष्ट छैन। तर ट्रम्प प्रशासनका केही प्रमुख नियुक्तिहरू— जस्तै संयुक्त राष्ट्रसंघका लागि राजदूत पदमा मनोनयन गरिएकी एलीस स्टेफानिक र इजरायलका लागि राजदूत पदमा रहेका माइक हकाबी— खुलेर ’ग्रेटर इजरायल’ को समर्थन गर्छन्।(6)
गाजा अहिले साँच्चिकै विध्वंसको केन्द्र बनिसकेको छ।(7) इजरायली कारबाहीले ९० प्रतिशत आवासीय क्षेत्र, विद्यालय, अस्पताल, मस्जिद, चर्च, र सरकारी संरचनाहरू ध्वस्त गरिसकेको छ। यदि हिंसा पुनः सुरु भयो वा आशाको कुनै संकेत देखिएन भने, के ठूलो मात्रामा विस्थापन सम्भव हुन्छ? के इजिप्ट र जोर्डनलाई अमेरिकी आर्थिक सहायता र सैन्य निर्भरता प्रयोग गरेर झुकाइनेछ?(8)
संभवतः होइन। इजरायलले न त हमासलाई हराउन सकेको छ, न त प्यालेस्टिनी जनताको प्रतिरोधलाई तोड्न सकेको छ। ट्रम्पले बोलेका शब्द र प्यालेस्टिनीहरूको प्रतिरोधबीचको फरक अत्यन्तै स्पष्ट छ। हालसालै लाखौं प्यालेस्टिनीहरू गाजाको उत्तरी भागमा फर्किएर आफ्नो जीवन पुनः निर्माण गर्न दृढ भएका छन्।
अरब राष्ट्रहरूले पनि यो प्रस्तावलाई अस्वीकार गरेका छन्।(9) हालै काइरोमा भएको बैठकमा प्रमुख अरब विदेशमन्त्रीहरूले प्यालेस्टिनीहरूलाई जबरजस्ती स्थानान्तरण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गरे।((10) राष्ट्रपति ट्रम्प आफैं आप्रवासन रोक्न कटिबद्ध व्यक्तित्व हुन्, तर तेस्रो मुलुकहरूलाई जनसंख्या विस्थापनाका लागि बाध्य पार्न खोज्नु गम्भीर विडम्बना बन्ने त छँदैछ ।
ट्रम्प–नेतान्याहु पत्रकार सम्मेलन गरिरहेका बेला ह्वाइटहाउस भन्दा केही पर लाफाएट स्क्वायरमा बनाइएका अवरोधहरूको पछाडि, प्रो–प्यालेस्टिनी प्रदर्शनकारीहरू झण्डा फहराउँदै नाराबाजी गरिरहेका छन्। उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा नियन्त्रणसम्बन्धी प्रस्तावको खबरबाट आाक्रोशित हुँदै ‘डोनाल्ड ट्रम्पलाई जेल हाल्नुपर्छ!’ र ‘प्यालेस्टाइन बिक्रीको लागि छैन !‘ भन्दै नारा लगाइरहेका छन्।

ट्रम्पले आफ्नाज्वाईं जारेड कुशनरले अघिल्लो वर्ष अघि सारेको विचार अपनाएको देखिन्छ। कुशनरले त्यसबेला भनेका थिए कि ‘गाजाको समुद्री किनार क्षेत्र निकै मूल्यवान हुन सक्छ।’(11)

अमेरिकी सरकारका लागि यो प्राथमिकता बन्ने कुनै कारण छैन। अमेरिकाले ग्रीनल्यान्ड वा पनामा नहर खरिद गर्ने प्रस्ताव राख्दा, त्यो अमेरिकाको लागि फाइदाजनक हुनसक्थ्यो। तर गाजाबाट प्यालेस्टिनीहरूलाई हटाएर इजरायलको हित सुरक्षित गर्ने योजना? यसले अमेरिकाको अन्तर्राष्ट्रिय छवि झनै कमजोर बनाउनेछ।
फुटनोटः
1https://www.theguardian.com/us-news/2025/jan/28/trump-repeats-suggestion-palestinians-should-leave-gaza-for-egypt-and-jordan
[2] https://www.bbc.com/news/articles/cp8x5570514o
[3] https://www.nytimes.com/2024/09/19/world/middleeast/saudi-israel-relations.html
(4)https://apnews.com/article/israel-gaza-population-transfer-hamas-egypt-palestinians-refugees-5f99378c0af6aca183a90c631fa4da5a
(5) https://www.haaretz.com/israel-news/2024-01-07/ty-article/ben-gvir-voluntary-transfer-of-gazans-is-the-solution-israelis-should-re-settle-strip/0000018c-e2f0-d751-ad8d-fff4fb4d000
(6)https://www.nytimes.com/live/2025/01/27/world/israel-hamas-lebanon-gaza
(7https://www.nytimes.com/2025/02/01/world/middleeast/arab-nations-reject-trump-evacuate-gaza.html
(8)https://www.aljazeera.com/program/newsfeed/2025/1/31/trump-insists-jordan-and-egypt-will-take-palestinians-from-gaza#flips-6368036680112:0
(9) https://www.aljazeera.com/news/2025/1/29/egypts-el-sisi-rejects-trumps-suggestion-to-take-in-palestinians
(10)https://mofa.gov.qa/en/latest-articles/statements/joint-statement-of-the-arab-six-party-meeting-in-cairo-on-palestine
(11)https://www.nytimes.com/live/2025/02/04/us/trump-administration-rfk-jr-gabbard#trump-netanyahu-meeting-israel-gaza
प्रतिक्रिया दिनुहोस्