सन् २०२१ मा एक स्त्री–द्वेषी पोडकास्टमा देखापर्दै, जेडी भ्यान्सले अमेरिकामा रूढीवादी अधिग्रहणका लागि आफ्नो महत्वाकांक्षालाई युद्धपछिको इराकमा अमेरिकी नीतिसँग तुलना गरेका थिए । “हामीलाई एक प्रकारको ’डी–बाथिफिकेशन’ कार्यक्रम चाहिन्छ, तर अमेरिकामा ’डी–वोकिफिकेशन’ कार्यक्रम,“ सद्दाम हुसेनको बाथ पार्टीका सदस्यहरूलाई समाप्त गर्न चलाइएको अभियानलाई संकेत गर्दै उनले भनेका थिए । यदि डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउस फर्किन्छन् भने, भ्यान्सका अनुसार, उनले “प्रशासनिक राज्यका प्रत्येक मध्यमस्तरका कर्मचारी, प्रत्येक नागरिक सेवकलाई हटाएर आफ्ना मानिसहरूलाई राख्नुपर्छ।“

मिशेल गोल्डबर्ग
भ्यान्सका शब्दहरू भविष्यवाणीसरह हुन पुगे । किनकि दोस्रो ट्रम्प कार्यकालका शुरुवाती दिनहरू कोएलिशन प्रोभिजनल अथोरिटी (CPA) को शैलीमा चलिरहेका छन्। भाग्यमानीहरूलाई थाहा नहुन सक्छ, सीपीए जर्ज डब्ल्यू. बुस र उनको टोलीले इराकमा अन्धाधुन्द हमला गरेपछि स्थापना गरिएको प्रशासन थियो। उनीहरूलाई सरकार चलाउन सजिलो छ भन्ने भ्रम थियो, तर त्यसबारे उनीहरूलाई थोरै मात्र जानकारी थियो। त्यो प्रशासनमा दक्षिणपन्थी अनुचरहरू (Apparatchiks) ले भरिएको थियो, जसमा कतिपय त विश्वविद्यालयबाट भर्खरै स्नातक गरेका आलाकाँचा युवा थिए। कट्टर रूढीवादी ’हेरिटेज फाउन्डेसन’ मा आवेदन दिएर निम्नस्तरका प्रशासकीय काममा भर्ती गरिएका छ जनालाई इराकको १३ अर्ब डलरको बजेट व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको थियो । एक समाजसेवी, जो पहिला क्रिश्चियन च्यारिटीको निर्देशक थिए, उनलाई इराकको स्वास्थ्य प्रणाली पुनर्निर्माणको जिम्मा दिइयो।
त्यसैबीच, करिब ५०,००० देखि १,००,००० इराकी सरकारी कर्मचारीहरू—जसमध्ये धेरैजसो केवल जागिरका लागि बाथ पार्टीमा सामेल भएका थिए—उनीहरु समेत हटाइए। स्कूलहरू शिक्षकविहीन भए। टाम्सकाका सायरस सोलो जिनका अनुसार, अनुभवहीन कर्मचारीहरूले बजेट हेरफेरी गर्दा प्रहरीले समयमै तलब पाउन सकेनन्। भ्यान्सले अनुकरण गर्न चाहेको डी–बाथिफिकेशनलाई व्यापक रूपमा एक असफलता मानिन्छ, जसले इराकमा अमेरिका प्रवेश गरेपछि हिंसा, अराजकता र अस्थिरता माात्र निम्त्याएको थियो ।
अमेरिकी सरकार इराकजस्तै पूर्ण रूपमा ध्वस्त भइसकेको छैन, तर त्यसका लागि प्रयासचाहिँ गरिंदैछ। ट्रम्पका सहयोगीहरूले पहिलो १०० दिनको योजना वर्णन गर्न “शक एन्ड अव“ (Shok and awe)—इराक युद्धकै जस्तो शब्द—प्रयोग गरेका छन् ।
सत्ता सम्हालेपछि, ट्रम्प प्रशासनले संघीय खर्चको ठूलो हिस्सा रोक्दा संकट उत्पन्न ग¥यो। अदालतले आदेश दिएपछि केही भुक्तानी पुनः सुचारु भयो। शुक्रबार राति, एलन मस्कले ट्रेजरी विभागको भुक्तानी प्रणाली कब्जा गरेका छन्, जसले अमेरिकी नागरिकहरूको संवेदनशील वित्तीय डाटासहित अर्बौं डलर व्यवस्थापन गर्छ। वाइर्ड (Wired) नामक मिडियाका अनुसार, उनलाई मद्दत गर्नेहरूमध्ये १९ देखि २४ वर्ष उमेरका आधा दर्जन इञ्जिनियरहरू छन्, जसको अनुभव इराकमा सीपीएमा नियुक्त नवयुवाहरूको भन्दा कम छ।
सामान्य सेवा प्रशासन (जीएसए) का कर्मचारीहरूका अनुसार, मस्कको कम्पनी न्यूरालिंकमा केवल तीन महिना बिताएका एड्वार्ड कोरिस्टाइन, जो भर्खरै १२ पास भएका युवा हुन् उनले सरकारी कर्मचारीहरूलाई आफै लेखेर कोड समीक्षा गर्न र आफ्नो जागिरको औचित्य प्रमाणित गर्न बाध्य पारे। मस्कका अर्का सहयोगी गाभिन क्लिगरले युसएसड का कर्मचारीहरूलाई मुख्यालय बन्द गरिएको भन्दै आउन नपर्ने मेल पठाए; मस्कले भने, “ युएसएडलाई हामी काठ काट्ने मेसिनमा हाल्दैछौं।“
शिक्षा विभागमा, विविधता प्रशिक्षण लिएका कर्मचारीहरूलाई बिदामा पठाइएको छ, र द वाशिंगटन पोष्टका अनुसार, ट्रम्पले चाँडै नै यो विभाग नै विघटन गर्नेछन्। वातावरणीय संरक्षण एजेन्सी(इपीए) का १,००० भन्दा बढी कर्मचारीहरू—जो जलवायु परिवर्तन तथा प्रदूषण न्यूनीकरणमा काम गर्छन्—उनीहरु जुनसुकै बेला हटाइन सक्ने अवस्थामा पुगेका छन्।
ट्रम्प प्रशासनले सुरक्षासम्बन्धी निकायहरूलाई सफा गर्दैछ। एफबीआईका हजारौं एजेन्टहरू—जसले क्यापिटल दंगाका दोषीहरूको अनुसन्धान तथा अभियोजन गरेका थिए—छानबिनको दायरामा छन्, र द न्यूयोर्क टाइम्सका अनुसार, सयौंलाई हटाइने सम्भावना छ। यसैबीच, प्रशासनमा चरमपन्थीहरू नियुक्त गरिंदैछ। ट्रम्पले सार्वजनिक कूटनीति तथा सार्वजनिक मामिला उपमन्त्री बनाउन चाहेका डेरेन बिट्टीले गत वर्ष लेखेका थिए, “यदि तपाईंलाई व्यवस्थापन चाहिएको छ भने, सक्षम श्वेत पुरुषहरूले नै जिम्मेवारी लिनुपर्छ।“
धेरैले मस्कद्वारा संघीय प्रशासन कब्जा गरिनुलाई “कू“ (coup) भन्दै छन्, जुन पूर्णरूपमा सही होइन। किनभने, दुर्भाग्यवश, ट्रम्पले चुनाव जितेका हुन्, र मस्कलाई अत्यधिक अधिकार उनले नै सुम्पेका हुन्। तर, यसले कूजस्तै अनुभूति दिन्छ, किनभने इतिहासमा कुनै पनि प्रशासनले आफ्नै सरकारलाई शत्रु क्षेत्रसरह कब्जा गर्न खोजेको छैन।
इराक युद्धसम्बन्धी आफ्नो संस्मरणमा, घाइथ अब्दुल–अहदले अमेरिकाद्वारा नियुक्त शासकहरूलाई “कलिला, अज्ञानी उत्साहीहरू“ भनेर वर्णन गरेका छन्, जो “औपनिवेशिक अहंकार, जातीय दम्भ र आपराधिक अक्षमताको“ प्रतीक थिए। अहिले हामी त्यस्तै शासनको अनुभूति गरिरहेका छौँ।
मानौं, हामी फेरि शून्यबाट सुरु गर्दैछौं। इराक युद्धले मध्यपूर्वलाई अस्थिर पार्नुका साथै, अमेरिकामा पनि गहिरो अविश्वास र विश्वासघातको भावना सिर्जना ग¥यो, जसले अन्ततः ट्रम्पको उदय गरायो। अहिले, ट्रम्प हामीलाई त्यही प्रकारको अव्यवस्थित, गैर–जवाफदेही शासन प्रदान गर्दैछन्, जुन हामीले इराकमा लादेका थियौं। उनको कदमलाई कट्टर राष्ट्रवादी भीड र अवसरवादी अभिजात्यहरू समर्थन गरिरहेका छन्, जस्तै जर्ज डब्ल्यू. बुसलाई समर्थन गरिएको थियो। (पहिले “गल्फ अफ अमेरिका“ भन्दा पहिला “फ्रीडम फ्राइज“ थियो।)
यस नयाँ प्रशासनले निम्त्याउने विनाश अन्ततः स्पष्ट हुनेछ, यहाँसम्म कि यसका समर्थकहरूका लागि पनि । तर, कुनै देशलाई तहसनहस पार्नु, त्यसलाई पुनः निर्माण गर्नुभन्दा निकै सजिलो हुन्छ।
—
(मिशेल गोल्डबर्ग सन् २०१७ देखि द न्यूयोर्क टाइम्सकी विचार स्तम्भकार हुन्। उनले राजनीति, धर्म, र महिला अधिकारबारे पुस्तक पनि लेखेकी छन् । उनले २०१८ मा कार्यस्थल यौन दुव्र्यवहारसम्बन्धी रिपोर्टिङका लागि पुलित्जर पुरस्कार जितेकी थिइन्।)
द न्यूयोर्क टाइम्स, फेब्रुअरी ३, २०२५ बाट भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्