मकवानपुर,२३ माघ । कुनै सयम देशको सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको हेटौँडा कपडा उद्योगको अस्तित्व सरकारी अभिलेखबाट हटिसकेको छ । हेटौँडा औद्योगिक क्षेत्रको २५६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगको नामसमेत अहिले सरकारी अभिलेखमा पाइँदैन ।
नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार हेटौँडा कपडा उद्योग खारेज गरी कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागबाट कपडा उद्योगको विवरणसमेत हटाइएको छ । कपडा उद्योगको स्वामित्वमा भएको जग्गा र भवन अन्य उद्योग सञ्चालनका लागि भाडामा लगाइएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटौँडा कपडा उद्योगको जग्गा अन्य २३ उद्योगलाई भाडामा लगाएको हो । २०५९ माघ र २०६६ कात्तिकमा गरी २ पटक मन्त्रिपरिषदको बैठकले हेटौँडा कपडा उद्योगको भौतिक पूर्वाधारतर्फको ८ करोड १२ लाख २५ हजार रुपैयाँ, प्लान्ट तथा मेसिनरी तथा सवारी साधन लगायतका सामानको ८ करोड १४ लाख २६ हजार रुपैयाँ र कपडा उद्योगको स्वामित्वमा रहेको २ सय ५६ रोपनी जग्गाको मूल्य २० करोड १९ लाख १५ हजार रुपैयाँ मूल्याङ्कन गरी उद्योग खारेज गरेको थियो ।
उद्योग मातहत रहेको भवन तथा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको थियो । सोही निर्णय अनुसार कपडा उद्योगमा रहेको सरकारको सेयर लिमिटेडमा कायम गरिएको थियो । उद्योगको प्लान्ट तथा मेसिनरी लगायत मूल्यमध्ये ७ करोड रुपैयाँ सरकारले लिने र बाँकी लिमिटेडलाई वार्षिक ५ प्रतिशतका दरले लगानी गर्ने सरकारको निर्णय थियो । २३ वर्षदेखि प्रयोगविहीन रहेको कपडा उद्योगको फलामको मेसिन स्क्र्याब गर्न पनि लिमिटेडले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । तर, पुनः सञ्चालनको प्रस्तावका बिच मन्त्रिपरिषदबाट उक्त निर्णय हुन सकेको थिएन । २०३२ सालमा स्थापना भएको र २०३५ सालदेखि उत्पादन थालेको कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्