काठमाडौ ५ मंसिर। देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड दिएका छन ।आज मङ्गलवार काठमाण्डौमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए ।
उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीको विदेश पलायन रहेको बताए । विद्यार्थी देशबाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको उनको भनाइ थियो ।
उनले भने, ‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने आजको महत्त्वपूर्ण सवाल रहेको छ । उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थी विदेशिने परिस्थिति छ । यसले गर्दा हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ । यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरिसकेको छ ।
विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरेर विद्यार्थी पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बन्न गएको छ । यसमा बौद्धिक समुदायको गम्भीर विचार विमर्श आवश्यक छ ।
विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्रै बाहिरिएको छैन, देशको ढुकुटी पनि बाहिरिँदै गएको छ ।’प्रधानमन्त्रीले शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए। विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने उनले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्