काठमाडौं, १ पुस । नेकपा एमाले को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीबाट सुरु भएर भृकुटीमण्डपमा बन्दसत्रसम्म आइपुग्दा पार्टीको इतिहास, वर्तमान चुनौती र भावी दिशाको जीवन्त चित्रण देखिने देखि रुवाबासीसम्ममा प्रवेश गरेको छ।
जेनजी आन्दोलनपछि सत्ता गुमाएको एमालेले यो महाधिवेशनलाई ुफेरि उठ्नेु सन्देश दिने अवसरका रूपमा लिएको छ। तर, आन्तरिक विद्रोह, नेतृत्वको गुटवन्दी, ओली समुहभित्र उपगुटको कव्जा र विधान संशोधनको विवादले महाधिवेशनलाई थप तनावपूर्ण बनाएको छ। अध्यक्ष केपी शर्मा ओलीको निरन्तरताको पक्षमा बहुमत देखिए पनि एक दर्जनभन्दा बढी प्रभावशाली नेताको बहिर्गमनले पार्टी एकतामा चुनौती थपिएको छ।

इतिहास : झापा विद्रोहदेखि जेनजी आन्दोलनसम्मको संघर्षपूर्ण यात्रा
नेकपा (एमाले) नेपालको सबभन्दा ठूलो कम्युनिस्ट घटक हो। यसको जरो नेकपा (१९४९) बाट सुरु भए पनि मूल हाँगो भने झापा विद्रोह (२०२८) मा छ। २०२८ मा झापा जिल्लामा सुरु भएको सशस्त्र विद्रोहमा मोहनचन्द्र अधिकारी आरके मैनाली सीपी मैनाली केपी शर्मा ओली, लगायत युवा सहभागी थिए। यो विद्रोहलाई पञ्चायत शासनले दबाएपछि विद्रोहीहरूले नेकपा (मार्क्सवादी–लेनिनवादी) गठन गरे।
२०४७ मा नेकपा (मार्क्सवादी) सँग एकीकरण भएपछि नेकपा (एमाले) को बन्यो । २०४९ को पाँचौँ महाधिवेशनमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) प्रतिपादन गरे, जसले एमालेलाई लोकतान्त्रिक कम्युनिस्टको बाटोमा डोर्यायो। यो कार्यक्रम युरो कम्युनिज्मको नेपाली अनुवाद थियो भन्ने टिप्पणी पनि रहेको छ । मदन भण्डारीको २०५० को दासढुङ्गा दुर्घटनापछि माधवकुमार नेपाल महासचिव बने।
एमालेले २०४६ को जनआन्दोलनपछि प्रमुख विपक्षीको भूमिका निभायो। २०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा नेपालको पहिलो कम्युनिस्ट सरकार बन्यो। २०५४ को छैटौँ महाधिवेशनपछि वामदेव गौतमले पार्टी विभाजन गरे (नेकपा माले), तर २०५९ मा उनी पुनः एमालेमै एकीकरण भए ।

२०६२–६३ को दोस्रो जनआन्दोलनमा एमालेले राजतन्त्र अन्त्यमा महत्वपूर्ण भूमिका निभायो। २०६५ को आठौँ महाधिवेशनमा बहुपदीय प्रणाली अपनाएको महाधिवेशनले झलनाथ खनाल अध्यक्ष बनायो,त्यो प्रतिस्पर्धामा केपी ओली पराजित भए । २०७१ को नवौँ महाधिवेशनमा ओलीले माधव नेपाललाई हराएर अध्यक्ष बने। यसपछि ओलीको युग सुरु भयो – राष्ट्रवाद (नयाँ नक्सा, भारतीय नाकाबन्दीको सामना) लाई जोड दिँदै जेनजी विद्रोहसम्म झेल्न आइपुगेका छन् ।
२०७४ को चुनावपछि माओवादीसँग एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो, जसले दुई तिहाइ सरकार दियो। तर, आन्तरिक कलहले २०७७ मा संसद् विघटन (दुवै पटक अदालतले बदर) र २०७८ मा नेकपा विभाजन भयो। एमाले पुनर्स्थापित भए पनि माधव नेपालले एकीकृत समाजवादी बनाए।
२०७९ को चुनावमा एमाले दोस्रो दल बने, ओली अनेक तिकडम गरेर प्रमुख दल कांग्रेसको काँध चढेर प्रधानमन्त्री बने। तर, २०८२ भदौको जेनजी आन्दोलन (भ्रष्टाचार, नातावाद, सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध) ले ओली सरकार ढल्यो। आन्दोलनमा २३–२४ भदौको हिंसा, संसद् र अदालत जलाउने घटनाले एमालेलाई ठूलो क्षति पुग्यो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेर चुनावको ताउरमाउर गर्दैछिन् ।
सल्लाघारीबाट एमालेको सन्देश : फेरि उठ्ने प्रतिबद्धता
महाधिवेशनको उद्घाटन मंसिर २७ मा भक्तपुरको सल्लाघारीमा भयो। ओलीले उद्घाटन गर्दै जेनजी आन्दोलनपछि पार्टीको सान्दर्भिकता समाप्त भएको भाष्यलाई चुनौती दिँदै भने, “धुँवा, खरानी र निषेधका प्रहार चिर्दै यो जनसागर ओर्लिएको छ। लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ।”
ओलीले तीन महिना अगाडिका ‘कहालीलाग्दा दिनहरू’ सम्झाउँदै आन्दोलनलाई ‘सुनियोजित षड्यन्त्र’ भने। महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि पार्टी फेरि उठ्ने दाबी गरे। जनपरिचालन समितिले बागमती प्रदेशमा घरघर निम्तो बाँडेको थियो। तर, ओलीले नै जनसहभागिता अपेक्षित नभएको स्वीकारे र यसलाई ‘प्रतिनिधित्व’ भन्न बाध्य भएका थिए ।
एमालेका प्रचार प्रमुख राजेन्द्र गौतमले त्यो सभाले तीन सन्देश दिएको बताएका छन् : १. एमाले जनताको साथी हो। २. राष्ट्र र एकताको रक्षक हो। ३. संविधान र लोकतन्त्र जोगाउने संकल्पलाई जनताले साथ दिन्छन्।
ओलीले प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सरकारलाई चुनाव नचाहेको आरोप लगाए।
नेतृत्व रस्साकसीः ओली बनाम पोखरेल, आन्तरिक विद्रोहको लहर
महाधिवेशन नेतृत्व चयनमा केन्द्रित छ। ओली तेस्रो कार्यकाल चाहन्छन्, पोखरेलले चुनौती दिएका छन्। दुवैले प्यानल बनाएका छन्।
ओली प्यानलः अध्यक्ष–ओली, उपाध्यक्ष–रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, महासचिव–शंकर पोखरेल उपमहासचिव–रघुवीर महासेठ, विष्णु रिमाल, लेखराज भट्ट सचिव–पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की, राजन भट्टराई।
पोखरेल प्यानलः अध्यक्ष–पोखरेल, उपाध्यक्ष–बिन्दा पाण्डे, परशुराममेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल, महासचिव–सुरेन्द्र पाण्डे , उपमहासचिव–योगेश भट्टराई, वैजनाथ भट्टराई, सचिव–गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ (४ पद रिक्त)।
ओली समूहमा विद्रोहः प्रदीप ज्ञवाली (उपाध्यक्ष अस्वीकार, केन्द्रीय सदस्यमा मात्र) काशीनाथ अधिकारी (एक्जिट), अग्नि खरेल, रघुजी पन्त, लालबाबु पण्डित, राजेन्द्र गौतम, भीम आचार्य (स्वतन्त्र), गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ (पोखरेल पक्ष) लगायतले ओलीको साथ छाडेका छन्। “नेतृत्वले योगदान हेरेन,” ओली पक्षकै नेताहरुले बताइरहेका छन् ।
पोखरेल पक्ष उत्साहितः “ओली समूहको फुटबाट गोप्य मतदानमा फाइदा हुन्छ,” गोकर्ण विष्टले भने। विद्या भण्डारीको सदस्यता रोकिएपछि असन्तुष्ट तान्ने रणनीति सफल भएको उनीहरूको ठहर छ।
विधान संशोधनको विवादः ओलीको ‘पश्चगमन’
भदौको विधान महाधिवेशनले पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ बनाएको थियो। तर ओलीले संशोधन गरेर १९ र ३०१ बनाए। यो कदमलाई सुरेन्द्र पाण्डेले त्यस कदमलाई ‘मनपरीतन्त्र’ भनेका छन् । “विधान अधिवेशनको औचित्य समाप्त,” भएको उनले फेसबुकमा लेखे। कर्णबहादुर थापाले ‘प्रतिगामी’ कदम भनेका छन् ।
जेनजी प्रभाव : केन्द्रीय कमिटीमा युवाका लागि १५ कोटा (५ प्रतिशत) तोकियो। क्लस्टरअनुसार युवा अनिवार्य।
.
महाधिवेशनको सन्दर्भः जेनजीपछि सुधारको परीक्षा
जेनजी आन्दोलनपछि युवा प्रतिनिधित्वको माग बढ्यो। महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका ४०० युवा छन्।
तीन शीर्ष नेता (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, केशब बडाल) बडाल स्वेच्छिक अवकाश घोषणा गरेपछि पहिलो टिभी अन्तर्वार्ताका लागि एबीसी स्टुडियोमा भक्कानिए) ले स्वेच्छिक अवकाश लिए।
केन्द्रीय कमिटी ३०१ सदस्यीयः क्लस्टर : प्रदेश ७२, खुला १२५, जनजाति २५, मधेसी २०, दलित १२ आदि।
विद्युतीय मतदान मंगलबार।
अध्यक्षमा ओलीले ह्याट्रिक गर्ने निश्चित भएपनि उनका सदाबहार सहयोगीका रुपमा रहेका प्रदीप ज्ञवाली जस्ता बरिष्ठ नेताको चित्त दुखाईले उनलाई थप कठिन बनाउने निश्चित छ ।







प्रतिक्रिया दिनुहोस्