काठमाडौ १ मंसिर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज किर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाईतेहरुलाई भेटेर उनीहरुको अवस्था र उपचारबारे जानकारी लिएका छन । भेटपछि मन्त्री लिम्बुले उनीहरु सबैलाई उपचारपछि सकुशल घर फर्काउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए। घाईते बिरामीहरुको थप उपचारका लागि अमेरिकाबाट चिकित्सक टोली आउन लागेको समेत मन्त्री लिम्बुले जानकारी दिए।
गत कार्तिक २६ गते लक्ष्मीपुजाको दिन० राती साढे दश बजेतिर उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा संचालित सुन पसलमा आगलागी भएसंगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र स्थानीयसहित २८ जना सख्त घाईते भएका थिए । घटनापछि उनीहरुलाई झापाको बी एण्ड सी अस्पताल र विराटनगरको विराट नर्सिङ होम, रेडप्लसलगायतका अस्पतालहरुमा भर्ना गरिएकोमा थप उपचारका लागि २५ जनालाई सेनाको जहाजबाट काठमाडौं ल्याईएको थियो ।
किर्तिपुर बर्न अस्पतालमा हाल उपचार गराईरहेका उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । सो आगलागी भएको स्थान युवा तथा खेलकुद मन्त्री लिम्बुको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं १ अन्तरगत पर्दछ । घटना घटेलगत्तै मन्त्री लिम्बु निरन्तर घाईतेहरुको उपचारका लागि समन्वय र सहयोगमा जुटिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्