काठमाडौं, २६ माघ । सरकारबाट बाहिरिने तयारी गरिरहेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ ।
प्रदेशसभा गठन र सन्चालन सम्वन्धी विधान बैठकको एजेण्डा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘संसदीय दलको विधानको विषयमा छलफल गर्न भनेर बैठक बस्न लागेको हो,’ उनले भने ।
डा. मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसलाई छलफल गरी पारित गर्ने उनले जानकारी दिए ।
बैठकमा नयाँ सरकार गठन, प्रतिनिधिसभाको समानुपातिक, सिट बाँडफाट, प्रदेश सरकारका पदहरुमा उम्मेदवारीलगायतका विषयले प्रवेश पाउने बताइएको छ ।
राष्ट्रियसभा निर्वाचनको परिणामसमेत आइसकेकाले अब नयाँ सरकार गठनको बाटो खुलेकाले सरकारबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुने अनुमान छ । कतिपय कांग्रेस नेताहरुले भने सरकार कामचलाउ भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिइराख्नु नपर्ने बताउँछन् । कांग्रेस प्रवक्ता शर्माले के गर्ने भन्ने कुरा शुक्रबार साँझसम्म टुंगो लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्