काठमाडौँ, २३ माघ । आज राष्ट्रियसभाले उपाध्यक्ष पाउँदै छ । मध्यान्ह १२ बजे बस्ने राष्ट्रियसभाको बैठकले नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याललाई उपाध्यक्ष बनाउने भएको छ ।
उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुनेछिन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ प्रस्तावक छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद् देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन् ।
आजको बैठकको सम्भावित कार्यसूचीअनुसार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका श्रेष्ठले ‘अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
साथै उक्त प्रस्तावको सांसद देवेन्द्र पौडेल र खिमलाल देवकोटाले समर्थन गर्ने छन् ।
त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो ।
राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ र नेपाली कांग्रेसका १० सांसद् छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)का ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् ।
एक जना स्वतन्त्र र तीन जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । रिक्त रहेका एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ ।
प्रतिक्रिया दिनुहोस्