काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ ।
साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनु भयो । उहाँले साईकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको प्रमाण लिएर छानवीनको काम सुरु गरिएको पनि स्पष्ट पार्नु भयो ।
आयोगले प्रदेश २ को सरकारले छोरीहरुलाई विद्यालय पढाउने कार्यलाई प्रेरित गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साईकल वितरण गरिन्छ । उक्त साईकल खरिद र वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको हो । सो उजुरी परेपछि स्थलगत निरीक्षण गरी आवश्यक कागजातसहितको प्रमाण लिएर अनुसन्धानको कामलाई पनि अघि बढाइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्