हामी विवेकहीन आँधीमा किन मिसिनु ?



सन् १८१६ को सुगौली सन्धिले चाहेर पनि नचाहेर पनि नेपाल–भारत (तत्कालीन बृटिश उपनिवेश) बीचको सीमारेखा खिचेको छ । सन् १८५७ को सिपाही विद्रोहमा जंगबहादर राणाले अलिकति जंगीपन देखाएर लखनऊ पुगेको पुरस्कारका रुपमा (नेपालीहरुको रगतको मूल्यमा) बांके बर्दिया, कैलाली र कञ्चनपुर थपिएपछि सम्पूर्णरुपले नेपालको सीमाना काली नदी पूर्वको भयो । त्यसैलाई पछिल्लो पटक अस्वीकार गर्ने आधुनिक प्रहसन गत नोभेम्वर ४ देखि भारतले सुरुवात गरेको सिलसिला शुरु भएको छ ।

मित्र कृष्णज्वाला देवकोटाले गोदी मिडियाले रन्थनिएको देश शिर्षकमा बडो रोचक लेख लेखेका छन् । त्यो लेखको सार अर्कै भएपनि भारतीय टेलिभिजनको रबैया, शैली र परम्परालाई संक्षिप्तमा सही तरिकाले विश्लेषण गरेका छन् । त्यसका कताकति बाछिटा नेपालका च्यानलमा पनि देख्न पाइन्छ । विषय केही पनि हुन्न तर एंकर पानी खुवाउनु पर्नेगरी चिच्याउँछ । लाग्दछ अब संसारै ध्वस्त हुँदैछ ।

भारतीय च्यानलको रुप अहिलेमात्र यस्तो भएको होइन ।सन् २००० तिरबाटै एक प्रपोगण्डा मशिनका रुपमा जति चर्को बोल्यो उति बढी मूल्य भन्ने ध्याउन्नमा केन्द्रित छ । त्यसलाई सन् २०१४ पछि हालैको कोरोना भाइरसकै जस्तो रुपमा अरु बढी तेजीका साथ फैलिएको छ । त्यसको केवल एक जात, एक धर्म, एक देश, एक शासक र एक मशिन मात्र मुख्य सिद्धान्त हो । कूल योगमा मिडिया मालिकको गोजी खाली हुनु हुंदैन, त्यो प्रवृत्तिले ती मिडियालाई दुशासन बनाएर भारतीय संविधानको बहुलवादी चरित्रकै चिर हरण गरिरहेको छ ।

भारतीय च्यानलमात्र होइन छापामाध्यममा पनि टेलिभिजनहरुलई उछिन्ने प्रतिस्पर्धा चलेको छ भारतमा र विशेषगरी पश्चिमा प्रजातन्त्रको मूलमन्त्रधारी देशहरुमा । संसदीय लोकाचारलाई च्यातच्युत पारेर बेलायतलाई समेत लज्जाको टोकरीमा पु¥याइदिएका छन् त्यही संसदीय लोकतन्त्रको दुहाई दिने देश र त्यहाँका मिडियाले । त्यसमाथि डोनाल्ड ट्रमजस्ता विश्व महाशक्तिका निरिह शासकले विश्वभरिका मिडियालाई नचाहेर पनि उत्तेजित हुन प्रेरित र आक्रोशित दुवै बनाएका छन् । सम्भवत यो शताव्दीको दुई दशकको यो भन्दा भद्धा मजाक अरु केही थिएन होला ?

फेरि पनि भारतीय रबैया र त्यहाँका मिडियाको किन नेपालप्रति यति विघ्न आक्रोशको पारो चढ्यो होला भन्नेमा उनीहरुको पृष्ठभूमि स्मरण गर्नु आवश्यक हुन्छ । भारतमा पेड न्युजको बहार लागेको छ भने अमेरिकामा फेक न्युजको विमार फैलिएको ट्रमको दावी छ । यी दुवै विमारीपन कोभिड–१९ भन्दा खतरनाक छन् । बृटिश फर्केर गएपछि भारतलाई जहिलसुकै शत्रुको खोजी गर्नमा बाहेक अरु कुरामा कुनै ध्यान छैन भने पनि हुन्छ । अहिले विश्व नै लकडाउनमा छ । नोभेम्वर ४ देखि त भारतको जम्मुकाश्मिर घोषित र संवैधानिक रुपमा संकटकालको नोकमुनि पिरोलिएइको छ । यद्यपि सन् १९६५ देखि नै जम्मु काश्मिरमा कहिल्यै त्यहाँका नागरिक चैनले सुतेको शायदै कुनै रात बांकी होला । दिल्ली र त्यहांका मिडियाका लागि त्यो सबैभन्दा ठूलो मसला हो । आजकल कट्टु, गन्जी र पान पराग बेच्ने टिआरपीमा परिणत भएको छ । फरक यत्ति हो ।


मिडियाको लिखित कुनै धर्मशास्त्र नभएपनि आफैले बनाएको तत्कालीन समाजको चरित्रलाई उन्नत बनाउने नाममा एक मानक हुने गर्दछ । त्यसमाथि सवैंभन्दा बढी सामाजिक उत्तरदायित्व हुन्छ । आफ्नो देशका नागरिकका दविएका आवाजलाई शासकका कानमा पु¥याउने, सार्वभांैमसत्ता र स्वतन्त्रताका विरुद्ध हुने कुनै पनि प्रकारका ज्यादतीका विरुद्ध तथ्य पस्केर जनतालाई सूचित गर्ने । बस् सूचित नागरिकले जे गर्नु पर्ने हो, उसले नै गर्दछ । मिडियाले त्यसभन्दा बढी केही गर्न सक्दैन । सन् १८५७ पछिको अवस्थापछि सन् १९५० मा जबर्जस्त राणा प्रधानमन्त्रीलाई दिल्लीबाट गराइएको सन्धिदेखि नै नेपालको सार्वभौमसत्ता र अधिकारमाथि विवाद हुँदै आएको छ । अझ भनौं भारतले नेपालले उठाउने कुनै पनि समस्यालाई ट¥यापमा पारेर मुख बन्द गराउने नीति अख्तियार गरेका कारण दुई देशबीचको सीमा समस्या कहिल्यै नसुल्झने खटिरो जस्तो बन्दै आएको इतिहास सिद्ध तथ्य हो ।

राजा महेन्द्रले आफ्नो शासनसत्ता कायम राख्न कालापानीमा भारतले सन् १९६२ मा राखेको भारतीय फौज हटाउने हिम्मत गर्न सकेनन् । बीरेन्द्रको समय समग्रमा सुतेर वितेको थियो । सन् १९९० को परिवर्तनलाई आफूले दिएको उपहार मानेर भारतले गिरिजाप्रसाद कोइरालासँगबाट टनकपुर लग्यो । त्यसयता जागरुक नेपाली समुदायले मसिनोगरी नेपाल र भारतका विषयमा मथिङ्गल खियाउन थालेको जस्तो लाग्छ । २०५५ सालमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्दै अहिले नेपाल सरकारले जारी गरेको नक्सा हाल बहालवाला मन्त्री योगेश भट्टराईहरुले छापेर वितरण गर्दा मानिसहरु खिस्सी गर्थे । संयोग तिनै भट्टराई सम्मिलित मन्त्रिपरिषद्ले त्यो नक्सा जारी गर्ने अवसर पायो । उतिबेला खिस्सी गर्नेहरुले झन चर्को स्वरमा डंका पिट्नु त हाम्रो व्यवस्थाको स्वभाविक चरित्र नै हो । अहिले त्यतातिर बहस नगरौं ।

सन् २०१७ मा नेपालका दुई वामपन्थी दल छापामार शैलीमा नै एक भएर बनेको स्थितिका कारणले आन्तरिक र वाह्यतिर धेरैको निद हराम भएको छ । त्यो अभियानमा नेपालकै मिडियाको पनि लामो सूची बनाउन नसकिने होइन । पछिल्लो प्रहसनमा गत नोभेम्वर ४ मा भारतले नेपालको भूमि अतिक्रमण गरेर र भारत स्वयंले विवादित भन्दै आएको भूमिलाई आफ्नो नक्समा समेटेपछि नेपाली जनतामा आक्रोश उठ्न थालेको थियो । अन्यथा जनकपुर मन्दिरमा मोदी र ओलीले एउटै रामायणकालीन पहिरनमा सजिएर बेहुली अनमाएको घटनालाई पनि सबैले मजा नै मानेका थिए । कसैको आपत्ति थिएन । नोभेम्वर ४ को भारतीय नक्सा र त्यसअघि भारतीय संसदले काश्मिरका बारेमा गरेको निर्णयलाई पाकिस्तानी प्रधानमन्त्री इमारान खानले विश्वव्यापी भारतको ज्यादतीपूर्ण चरित्र भन्दै भाइरल बनाएका थिए । त्यसैका लागि उनी दुई पटक वाशिंगटन र बेइजिङ हुँदै संयुक्त राष्ट्रसंघको महासभामासम्म पुगेर भारतको उछितो काढेका थिए । तर ती तथ्य थिए । सत्यसको सोपान त सहमतिमा वा सर्वमान्य मानिने निकायले गर्न बांकी नै छ ।

कोभिड–१९ को संक्रमण र नेपालमा सन् २०१७ मा कायम भएको राजनीतिक स्थितिमा उछलकुद गरेर नेपाललाई सन् ०१७ भन्दा पहिलेको अवस्थामा फर्काउने प्रहसनका अनेक घटनाक्रम अघि बढ्दै गर्दा आशातित सफलता नमिलेपछि बैशाख २६ गते भारतले नेपाली भूमिमा नै बाटो बनाएको भर्चुअल उद्घाटन गरेपछि भारतीय मिडियालाई नयां दुश्मन फेला प¥यो नेपाल । बद्मासी भारतीय शासकले गरे । तर खलनायकीकरण नेपाललाई गर्न थालियो । अहिले भएको त्यही भारतीय शासक निर्देशित गोदी मिडियाको प्रहसन हो । त्यो प्रहसन दिल्लीमा मात्र थिएन, काठमाडौंमा पनि थियो । फुटिसकेको नेकपालाई बेइजिङले मिलाइदियो भन्नेमा दिल्लीका मिडियाजत्तिकै नेपालकै पनि कतिपय मिडिया लागेको घटनालाई सहजै विर्सन मिल्दैन । गोदी मिडिया प्रवृत्ति नेपालमा पनि संक्रमित भएको थियो । तर त्यसको समयमै दिल्लीकै कदमले निदान गरिदियो । यसका लागि भारतीय मिडिया र त्यहांका शासकलाई धन्यवाद दिनु पर्दछ ।

नेपाल सरकारको पछिल्लो निर्णयले नेपालको नक्सामै भएपनि भूगोल नै परिवर्तन भएको छ । तर नेपालबाट निस्कने केही दैनिक पत्रिकाले त्यो नयाँ नक्सा छाप्ने लेठो गर्नुभन्दा गोदीकारितातिर लाग्नु बाञ्छनीय ठानेको त होइन भन्ने गम्भीर प्रश्न बजारमा छ । कुनै बेला नेपाल टु प्लस वानको कथित .फर्मुलाभित्र पुुगिसकेको बल लगाएर विश्लेषण गर्ने नेपालका टेलिभिजन नभएर छापा नै थिए । भारतीय च्यानल र नेपालका छापाको किन उस्तै शैली बन्दै गए होला भन्ने मलाई कहिलेकाहीं कुत्कुती लाग्दछ । कोही आजको भोलि नै भगवान भनिएको राक्षसमा परिणत हुने र राक्षस मुक्तिदाता बन्ने प्रवृत्ति नेपालको मिडियामा पनि राजनीतिमा जस्तैगरी संक्रमित हुन थाल्नु सांच्चिकै विडम्वना हो ।
भारतले र भारतीय मिडियाले आज जे गरिरहेका छन् । त्यो त उनीहरुकै सनातनी धन्दा भयो ।

कुनै बेला थियो, भारतमा गौतम नवलेखा, सञ्जय कुमार, रविस कुमार र पुन्य प्रसुन बाजपेयी जस्ता केही सम्पादक र तिनले प्रतिनिधित्व गर्ने मिडियाको पनि सुनुवाई हुन्थ्यो । तिनीहरु मध्ये अहिले केवल रबीस कुमार मात्र जसोतसो टिकिरहेका छन् । बांकीलाई सिनआउट गरिसकिएको छ । सिद्धार्थ व्रर्दराजनहरु मूल प्रवाह भनिने मिडियाबाट अनलाइनमा सिमित हुनु परेको छ । कन्न्डभाषाकी नामी पत्रकार गौरी लंकेशको इहलिाला समाप्त भएको छ । तैपनि अरुन्धती रुोयहरु अझै पनि लेख्दैछन् । त्यो पनि नौलो कुरा हुन थाल्ने बेला भइसकेको छ । तसर्थ भारत र नेपालका बीचमा धेरै कुरामा तुलना हुनसक्दैन ।

तर एउटा सत्य के हो भने जसरी कोभिड–१९ को महामारीबाट बच्न डिस्टेन्सिङ मेन्टेन गर्नु परेजस्तै दिल्ली केन्द्रित मिडिया र तिनका वास्तविक पर्दापछाडिका सञ्चालकहरुको विवेकहीन आंधीबाट नेपाली मिडिया जोगिन सक्ने हो भने नेपालका लागि निकै ठूलो योगदान गरेको ठहरिनेछ ।

दुई पक्षीय सम्वेदनशील सार्वभौमसत्ताको मामिलालाई ओश रजनीशको प्रवचन आइरहने पात्र मूला नसुरुद्धिनले जसरी आफ्नै कर्तुत ढाकछोप गर्न जनतालाई दिग्भ्रमित पार्ने रोगबाट पनि नेपाली मिडिया जोगिनु हानिकार हुंदैन । त्ययसमाथि नेपालका मिडियाको सम्वेदनशीलता राजनीतिक नेतृत्वको बचन केन्द्रित भएकोमा कसैले अप्ठेरो मान्नु पर्दैन ।

कोभिड–१९ कै कुरा गर्दा नेपालका कति मिडियाले जनवरी र फ्रेवुअरीमा सरकारलाई यो महामारीबाट बच्न किन तयारी नगरेको भनेर घच्घच्यौं कि नेकपाका बहुकेन्द्रित तुषलाई विस्कुन सुकाउन मजा मान्यौं ? बेलुन फुटेजसरी साम्य हुने विवादका घाउ कोट्याउनु भन्दा, हाम्रो पनि कर्तव्य थियो कि आफ्नो लुतो कन्याउन छाडेर कोरोनाको कहरबाट जोगिन केही त गर भनेर सरकार र सत्तारुढ दललाई सचेत गराउनु । तर हामीले के ग¥यौं ? यतिबेला सत्तारुढ दलभित्रको लुतो कन्याएका घाउमा खाटा क्षितिज हुन थालेपछि हामीलाई पनि राष्ट्रवादी आगो ओकल्न मन लागेको हो भने त यो उही मुल्ला नसुरुद्धिनको बढी खरानी घस्ने कथा जस्तै भएन र ?

    Comment Here!


सम्बन्धित समाचार

View All