जनकपुरधाम, २४ कात्तिक । मिथिलाञ्चल क्षेत्रमा अहिले सामाचकेवाले रौनक छाएको छ । मिथिलाञ्चल क्षेत्रले आफ्नो धर्म संस्कृतिको संरक्षणकालागि पर्वहरुको आड लिएको समेत देखिन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा सधै कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ । यसै क्रममा अहिले तराईबासीले स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामाचकेवा पर्व मनाईरहेका छन् ।
कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भएको सामाचाकेवा पर्व १० दिनसम्म मिथिलाञ्चलका चेलीबेटीहरुले मनाउने गर्छन् । कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरु संगै सामा चकेवा पर्व मनाउने गर्छन् । सामाचकेवा पर्वलाई भाई बहिनी बिचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । सामाचकेवा लोक नाटकको रुपमा महिला तथा आईमाईहरुको पुनित पर्व रहेको सांस्कृतिविद परमेश्र कापडी बताउंछन् । यस पर्वमा नाटकमा तत्व दर्शन, मुल्य दर्शनका साथै ज्ञान र मनोरंजन, राग र वियोग आदि सबै एकैमा समावेश भएको कापडीले बताए । सामा चकेवा भाई वहिनीको पर्व भएको र यस पर्वमा गाईने गीतहरुले भाईको आयु बढने विश्वास रहेको उनको विश्वास छ ।
यसपर्वको वास्तविक नाम श्यामाचकेवा रहे पनि लोक भाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुइवटैलाई चराको आकृतिको रुपमा माटोले बनाइएको हुन्छ । सामाचकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुगली लगाउने चूडक पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउँछन् । पूर्णिमाका दिन बहिनीहरु आफ्ना भाइ तथा दाइलाई निमन्त्रणा दिन्छन् । भाईले घुँडामा राखेर सबै मूर्ति तोडछन् र ती मूर्तिहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ । बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन् यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ । यस पर्वलाई भाइबहिनी र प्रेमको प्रतिकको पर्वरहेको स्थानिय विन्दु ठाकुरले बताइन् ।
सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरुको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन गर्दछ । सामाचकेवामा मिथिलानी दिदीबहिनीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो ल्याउने गर्छन । ती माटोबाट कलात्मक वृन्दावन, चुगला, चकेवा, चरा, कजरौटा, सतभैया लगायतका मुर्तिहरु वनाई घाममा सुकाएर साँझदेखि गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको सुरुवात गर्छन् । र, यस पर्वको अन्तिम दिन अर्थात कत्र्तिक पुणिमाको दिन चूडक पात्र अर्थात चुगलालाइ जलाइ यस पर्वको समापन गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्