काठमाडौं, ८ वैशाख । १५ अप्रिलमा परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमा एउटा पोष्ट गरे । इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै उनले स्टाटस पोष्ट गरेका थिए ।‘इरानमा पक्राउ परेका अमृत झा रिहा भएका छन् । इरानमा हाम्रो मानार्थ महावाणिज्य दूतावास र कतार दूतावास उनीसँग सम्पर्कमा छन् । हाम्रो टोलीले उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ,’ मन्त्री खनालको स्टाटस थियो ।मन्त्रीले स्टाटस लेखेको ७ दिन वितिसक्दा समेत अमृत झा अझै पनि इरानी हिरासतमै छन् ।
मन्त्री खनालले स्थानीय अदालतबाट रिहाईका लागि आदेश भएको र सोही आधारमा उनी रिहा भएर इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित रहेको बताएका थिए ।तर, अमृत झाका भिनाजु राजेश झाका अनुसार अमृतले हिजो बेलुका ५ बजेतिर फोन गरेर आफू जेलमै रहेको बताएका थिए ।अमृतले परिवारलाई दिएको जानकारी अनुसार उनी हाल इरानको बन्दर अब्बास जेलमा छन् । होर्मोज्गान प्रान्तमा रहेको उक्त जेललाई मानवअधिकारकर्मीहरूले धेरै प्रश्न उठाउने गरेका छन् ।यो जेल विशेषगरी विदेशी नागरिक, लागूऔषध मुद्दाका आरोपी, गम्भीर अपराधका कैदीहरूलाई राखिने जेलका रूपमा चिनिन्छ ।‘परराष्ट्रमन्त्रीज्यूले रिहा हुनुभयो भनेर भन्नुभएपछि हामी एकदमै खुसी भएका थियौं । तर, हिजो बेलुका ५ बजेतिर फोन गरेर म त जेलमै छु, कसले रिहा गर्यो भनेर भनेपछि हामी त चकित पर्यौं,’ राजेशले भने ।
परराष्ट्रमन्त्रीले नै सामाजिक सञ्जालमार्फत रिहा भएको जानकारी गराएपछि खुसी भएको झाको परिवार यतिबेला उल्टो थप तनावमा देखिएको छ । यसअघि फोन गर्दा हाँसेर कुरा गर्ने गरेको तर, हिजो फोन गर्दा भने अमृत निरास देखिएका थिए ।अमृतले अदालतबाट पत्र पाएको र मुद्दाको अनुसन्धान जारी रहेकाले जेलमै राख्ने जानकारी गराएको परिवारलाई बताएका थिए । जसले गर्दा परिवार थप तनावमा परेको हो ।
परराष्ट्र मन्त्रालयले भने सूचना प्रवाहका क्रममा मिसकम्युनिकेशन भएको दाबी गरेको छ । परराष्ट्रमन्त्रीले के कसरी त्यस्तो खालको सूचना प्रवाह गरे भन्ने विषयमा मन्त्रालयका अधिकारीहरू भने अनविज्ञ देखिएका छन् ।परराष्ट्रका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले त्यहाँको स्थानीय अदालतबाट रिहाइको आदेश भएको र रिहाको प्रकृयामै रहेको प्रष्टीकरण दिए । ‘अदालतको आदेशपछि रिहाइको प्रकृया अघि बढेको छ । मन्त्रालयले कतारस्थित नेपाली राजदूतावासमार्फत रिहाइको प्रकृया अघि बढाइरहेको छ,’ प्रवक्ता पौडेलले भने ।
वर्तमान सरकार आउनुअघि नै अमृत झासहित ७ जना सवार पानी जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै इरानको हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटबाट नियन्त्रणमा लिएको थियो ।
पानी जहाजसहित ७ जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्धा दायर गरिएको थियो । अदालतको आदेशपछि जहाजमा रहेका ७ जनामध्ये ४ जना रिहा भएका छन् भने अमृतसहित ३ जना रिहा हुन बाँकी नै छन् । उनीहरूको समेत रिहाईको प्रकृया अघि बढिरहेको परराष्ट्रले जनाएको हो ।
सन् २०२४ को जुलाईमा वैदेशिक रोजगारीका लागि यूएई गएका अमृत ‘अल लुलु मरिन सर्भिसेस् एलएलसी’ को पानी जहाजमा ‘सीम्यान’ को रूपमा काम गर्दै आएका थिए ।
इजरायल–अमेरिका र इरानबीचको युद्ध सुरु हुनु अगाडि नै उक्त जहाज इरान गएको थियो । इरानबाट फर्किने क्रममा पानी जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको जनाएको थियो ।
इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको केही दिनपछि मात्रै अमृतले घर परिवारलाई जानकारी गराएका थिए । ह्वाट्सएपमार्फत अडियो म्यासेज पठाउँदै आफुलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र रिहाका लागि सरकारसँग पहल गरिदिन अनुरोध गरेका थिए ।
त्यसपछि उनकी दिदी पुजा झाले कन्सुलर सेवा विभागमा उद्धारका लागि निवेदन दिएकी थिइन । त्यसपछि मात्रै परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागमार्फत आवश्यक पहल अघि बढाएको थियो ।
युद्धका कारण इरानमा रहेका नेपाली अवैतनिक दूत समेत टर्की गएर बसेका छन् । त्यससँगै कतारमा रहेको नेपाली राजदूतावासमार्फत रिहाइको पहल गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्