
काठमाडौँ १२ वैशाख । ठूलो मात्रामा जनधनको क्षति गराएको भूकम्प गएको आज चार वर्ष पूरा भएको छ । चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण काडमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति भयो । झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मारमा परे ।
भूकम्पमा परि कम्तिमा ८ हजार ७९० जनाले ज्यान गुमाए । झण्डै २२ हजार नागरिक घाइते भए । अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेन ।
निजी आवस निमार्ण तर्फ अहिलेसम्म चार लाख तीन हजार दुई सय ८० लाभग्राहीले तेस्रो किस्तानको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । वैशाख १२को भूकम्पले क्षति पुर्याएको वसन्तपुर दरवारको पुनर्निर्माण गरिँदै। यस्तै सात लाख ६० हजार २७९ जनासँग अनुदान सम्झौता भएकोमा पहिलो किस्ता लिनेको संख्या सात लाख ५५ हजार ८६८ र दोस्रो किस्ता पाउनेको संख्या पाँच लाख ६४ हजार ३४२ रहेको छ । केहीको गुनासो सुनुवाई भएको छ भने केहीको गुनासो अझै पनि गुनासोमै छ । अहिले पनि गुनासो संकलन भइरहेको प्राधिकरणले जनाएको छ । सम्पदा पुनर्निर्माणमा भने ढिलाई भएको छ । अहिलेसम्म एकादुई बाहेक सम्पदाको काम सकिएको छैन । भूकम्पबाट क्षति पुगेका सबै सम्पदा पुनःनिर्माणका लागि १० अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने बताइएको छ ।
ती सबै सम्पदा सरकार आफ्नै स्रोतबाट बनाउन नसकेपछि दातृनिकायको सहयोगमा बनाउने अभियान पनि दुुतगतिमा हुन सकेको छैन । काठमाडौं हनुमानढोका दरबाररवसन्तपुर, भक्तपुर र पाटन क्षेत्रकै कतिपय सम्पदा र दरबारहरु अझै बनाउन नसकिएको हो । यद्यपि, सरकारले भूकम्पले क्षति र्पुयाएकामध्ये २२३ सम्पदाको पुनःनिर्माण सकिएको दाबी गरेको छ । उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये हनुमानढोका दरबार परिसरका २९ सम्पदा क्षतिग्रस्त भएकामा १४ को पुनःनिर्माण सकाइएको दाबी पनि गरिएको छ । पुरातत्व विभागमार्फत् १६१, पशुपति क्षेत्र विकास कोषमार्फत् २० र अरु संघ/संस्थामार्फत् ४२ सम्पदाको पुनःनिर्माण सकिएको सरकारले जनाएको हो ।



















प्रतिक्रिया दिनुहोस्