
काठमाडौं ,१३ मङसिर । संसदीय समितिले नयाँ सहरी बस्ती विकास आयोजनाको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहिबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकले नयाँ सहरी बस्ती विकास आयोजनाको काम तत्काल अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
स्पष्ट मापदण्ड बनाई सो आयोजनाको कामलाई तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो । सरकारले मध्ये पहाडी लोकमार्ग र हुलाकी राजमार्गले छोएका १८ वटा साना सहरलाई व्यवस्थित सहर बनाउन योजना अघि सारेको छ ।
समितिको बैठकले सोसम्बन्धि योजना अघि बढाउँदा स्पष्ट मापदण्ड तय गर्न पनि सरकारलाई सचेत गराएको छ । न्यूनतम पूर्वाधार सुनिश्चित हुनेगरी नयाँ सहरी बस्ती विकास आयोजनाको काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि समितिकी सभापति खड्काले बताउनु भयो ।
बैठकमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाद राईले सहरी विकास बस्ती योजनाको कामलाई छिट्टै तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
उहाँले प्रदेश सरकारले स्वामित्व नलिएका कारण नयाँ सहरी बस्ती विकास आयोजनाको कामले गति नलिएको पनि समितिलाई जानकारी गराउनु भयो । नयाँ सहरी विकास बस्ती आयोजनाको कामलाई प्रभावकारी रुपमा संचालन गर्न अनुगमनको कामलाई पनि सूचारु गराउने मन्त्री राईको योजना छ ।
मन्त्री राईले नमुन बस्ती विकास आयोजनाका लागि बजेटको खोजी भईरहेको पनि बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्