
काठमाडौं,१० मङसिर । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लू बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राजदूत भएर नेपाल आइसकेपछि पहिलोपटक आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठनलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा सभामुख महराले नेपालको बसाइँ सुखद र कूटनीतिक हिसाबले सफल रहने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा राजदूत बेरीले आफू नेपालमा पहिले पनि केही वर्ष बस्ने मौका पाएको र अहिले राजदूतकै रुपमा आउन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।
‘मैले केही वर्ष पहिले नेपालमा बस्ने मौका पाएको थिएँ । अहिले फेरि राजदूतकै जिम्मेवारीमा यहाँ आउने मौका पाएँ’ राजदूत बेरीले भन्नुभयो, ‘यहाँ आइसकेपछि नेपालको संस्कृति, परम्परा, इतिहास अध्ययन गरिरहेको छु ।’सो अवसरमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गर्नुभयो ।
संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री समूह गठनका लागि तयारी गरिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने बताउनुभयो ।
सभामुखसँगको भेटमा नेपालस्थित अमेरिकी राजदूत बेरीले नेपालमा राजनीतिक स्थिरता कायम भएसँगै लगानीको वातावरण बन्दै गएकोमा अमेरिकी सरकार खुशी भएको बताउनुभयो ।
नेपालको समग्र विकासका पूर्वाधारहरुका लागि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् लगानी गर्न लागिरहेको भन्दै राजदूत बेरीले सरकारसँग सम्झौता भइसकेको र संसदमा आउने प्रस्तावलाई अघि बढाउन सभामुखको सकारात्मक भूमिकाको अपेक्षा गरेको बताउनुभयो ।
नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसनको सफलता वैदेशिक लगानीका लागि नेपालको सफलताको सूचकको रुपमा रहने भन्दै राजदूत बेरीले यसका लागि सबै पक्षको सकारात्मक पहलकदमीको अपेक्षा गरेकोमा जोड दिनुभयो ।
जवाफमा सभामुख महराले अमेरिकाले एमसीसीमार्फत् गरिरहेको लगानी सफल बनाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । अहिले राजनीतिक स्थायित्व भएको अवस्थामा जतिसक्यो धेरै वैदेशिक लगानी भित्र्याएर देशको समग्र विकासमा धेरै लाभ लिन सकिने सभामुख महराले बताउनुभयो ।
भेटवार्तामा संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, संघीय सचिवालयका सचिव डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्