
धनगढी,९ मङसिर । देशैभर जनप्रतिनिधिहरुले गाडी किनेको भन्दै आलोचना भइरहका बेला कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने भएका छन् ।
लम्कीचुहा नगरपालिकाको कार्यापालिकाको आइतबार बसेको बैठकले मेयरका लागि गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ वडा नं. १०, चुहामा निर्माण भइरहेको सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको हो ।
मेयर बजगाईका स्वकीय सचिव विष्णु खनालका अनुसार मेयर बजगाईले पुरानै गाडी चढ्ने निर्णय गरेपछि कार्यपालिकाले त्यो रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।
सो अस्पताल निर्माणका लागि नगरपालिकाले म्याचिङ फण्डबाट १५ लाख रुपैयाँ यसअघि नै छुट्याइसकेको छ । ५० शै्याको सो अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद् झपट बहादुर रावलले २१ लाख रुपैयाँ सांसद् विकास कोषबाट छुट्याएका छन् ।
प्रदेश सरकारबाट समेत १ करोड रकम विनियोजनको लागि पहल भइरहेको खनालले बताए । सामुदायिक अस्पतालबाट अत्याधुनिक प्रविधि सहित सम्पूर्ण सेवा दिने गरी अस्पताल निर्माण भइरहेको छ । नगरपालिकाले नीति बनाएर २ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको खनालले बताए ।



















प्रतिक्रिया दिनुहोस्