
बुटवल, ७ साउन । मुलुक भर डा केसी र सरकार तथा चिकित्सा शिक्षाका विषय यतिबेला चर्किएको छ । यसैक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको आलोचना गरेका छन् ।
डा. केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र कांग्रेसले केसीका मुद्दालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा सोमबार बुटवलमा भएको कार्यक्रममा नेकपाका नेता समते रहेका मुख्यमन्त्री पोखरेलले विगतमा कांग्रेसकै नीतिका कारण शिक्षा, स्वास्थ्यमा निजी क्षेत्रको लगानी आएको बताए । उनले भने, ‘अहिले त्यही ठिक होइन भन्ने लागे कांग्रेसले हाम्रो नीति गलत थियो भनेर आत्मालोचना गर्नुपर्छ ।
काठमाडौंमा थप मेडिकल कलेज खोल्नु हुदैन भन्ने डा. केसीको माग मनमोहन कलेजबिरुद्ध भएको पोखरेलले बताए । उद्देश्य गलत भए पनि जनमानसमा डा. केसीले उठाएका माग पवित्र छन् भन्ने भ्रम रहेको उनले बताए ।
नयाँ सरकार गठन हुँदा मौन रहेको कांग्रेस दुई कम्युनिष्ट पार्टीबीच एकता भएपछि अब ५ वर्ष कुनै हालतमा सरकारमा पुग्न सकिँदैन भन्ने देखेर अत्तालिएको मुख्यमन्त्री पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यसमा हुने लगानीलाई नाफारहित बनाउनु पर्ने बताए ।
नेकपाका नेतासमेत रहेका पोखरेलले नेपकपा पुष्पलालले देखाएको बाटोमा अघि बढिरहेको धारणा राखे ।



















प्रतिक्रिया दिनुहोस्