
काठमाडौं,२६ असार । वर्तमान सरकारले गरेका कतिपय निर्णयको विरोध गर्दे सिंहदरबार अगाडी धर्ना दिन गएका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्ति समाजका संस्थापक कृष्ण पहाडीको नेतृत्वमा मंगलवार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको गर्दैगर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले मानवअधिकार तथा शान्तिसमाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डाक्टर गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी लगाएत २५ जनालाइ नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको समाजले जनाएको छ ।
धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
समाजले असार ३० गते शनिवार दिउँसो १ बजे प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेटअगाडि दोस्रो विरोध प्रदर्शन गर्ने जनाएको छ । यस्तै असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने जनाइएको छ ।
सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको भन्दै शान्ति समाजले आधारभूत स्वतन्त्रता र मानव अधिकार संरक्षणका लागि आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्