
काठमाडौं, २२ असार । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) बाट आज शुक्रवार मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा कालिगण्डकी कोरिडोरमा कार्यरत १९ जना मजदुरको निधन भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।
उहाँले दुर्घटनामा ज्यान गुमाउने मजदुरहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
दुर्घटनामा घाइते भएकाहरुकालागि शिघ्र स्वाथ्य लाभको कामना गर्दै उपराष्ट्रपनि पुनले उपचारको उचित प्रबन्धका लागि ध्यानाकर्षण गराउनु भएको छ ।
खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा १५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये रोल्पाका ९ जना र दाङका ५ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका, ३६ वर्षका मौसम घर्ती, थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना मगर, २३ वर्षका रास्त्रे रोका, २३ वर्षकी जीतकुमारी पुन, १९ वर्षका महेश रोका रहेका छन् । त्यस्तै रोल्पा सुनछहारी १ कि ३२ वर्षकी सुन्तु घर्ती र ३२ वर्षका राजकुमार पुनको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको पनि उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा धादिङका २३ वर्षका सुजन घलान, ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी, कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती, कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्रीको पनि मृत्यु भएको थियो ।



















प्रतिक्रिया दिनुहोस्