बर्दिया, २५ साउन । सिसिक्यामेरा प्राय नीजि तथा सरकारी कार्यालयहरुमा सुरक्षाका लागि लगाईन्छ । चोरी बढी हुन सक्ने, हिंसात्मक घटना बढि मात्रामा हुने चोकहरुमा सि सि क्यामेरा राखिन्छ । तर बर्दिया जिल्लामा भने जंगल भित्र नै सिसिक्यामेरा जडान गरीएको छ ।
निकुञ्ज भित्रको गतिविधि हेर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रभित्र सिसि क्यामेरा जडान गरीएको छ । निकुञ्ज भित्र अप्टिकल फाईवर र विद्युतीय तार विच्छ्याएर सिसि क्यामेरा जंगलका विभिन्न स्थानमा जडान गरीएको छ । निकुञ्ज भित्रका ठुला ठुला रुख र मचानहरुमा सि सि क्यामेरा राखिएको छ । विशेषगरी चोरी शिकारीहरु आवत जावत गर्न सक्ने नाका, जनावरहरु ओहोर दोहोर गर्ने बाटो र खुल्ला घाँसे मैदानहरुमा सिसि क्यामेरा राखिएको निकुञ्जले जनाएको छ ।
त्यसैगरी राजमार्गमा यातायातका साधनहरु ओहोरदोहोर गरेको समेत देख्न सकिने गरी सि सि क्यामेराहरु जडान गरीएको छ । राजामार्गमा रहेका चेक पोष्टहरुमा भएको गतिविधिहरु अवलोकन गर्न सकिने गरी क्यामेरा जडान गरीएको छ । निकुञ्ज क्षेत्रमा १९ किलोमिटर अप्टिकल फाईवर विच्छ्याइएको छ । ६४ ओटा सि सि क्यामेराहरु जडान गरीएको छ । जसमा ७ ओटा सि सि क्यामेरा वायरलेस प्रणालीबाट जोडिएको डब्लु डब्लु एफ का वाईल्डलाईफ ट्रेड मोनिटरिङ्गका माधव खड्काले जानकारी दिए ।
हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ६० ओटा सि सि क्यामेराहरु सञ्चालनमा रहेका छन् । ३९ ओटा स्थानमा राखिएको सि सि क्यामेराका दृश्यहरु निकुञ्ज मुख्यालय ठाकुरद्धारा, अम्रेनी चेक पोष्ट र कर्णाली चिसापानी चेकपोष्टबाट अनुगमन गर्न सकिन्छ । अप्टिकल फाईवर सहितको सि सि क्यामेरा जडानका लागि डब्लु डब्लु एफको सहयोगमा करिब पौने २ करोड खर्च भएको छ । भरपर्दो इन्टरनेट सेवा नहुँदा सि सि क्यामेरा जडान महंगो भएको हो । सि सि क्यामेरा चोरी शिकारी प्रवेश गर्ने स्ुथान, मानिसहरु आवत जावत गर्न सक्ने स्थान, वन्यजन्तु आवतजावत गर्ने ठाउँ, चेक पोष्ट र विगतमा घटना भएका स्थानहरु लगाएत रणनैतिक स्थानहरुमा जडान गरीएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जको जोइन्ट अपरेशन रुमबाट निकुञ्जको गतिविधि अवलोकन गर्ने र तुरुन्त एक्सन लिने गरी सि सि क्यामेराको जडान गरीएको छ । भर्खर जडान भएको हुनाले यसको रिजल्ट हेर्न बाँकी नै रहेको बताउँदै वन्यजन्तु अपराधको नियन्त्रण नै सि सि क्यामेरा जडानको पहिलो उद्देश्य रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
दुई बर्ष अगाडी चितवन राष्ट्रिय निकुञ्जमा सि सि क्यामेराहरु राखिएको थियो । सो स्थानमा राख्दा भएका कमिकमजोरीहरु बर्दियाका लागि सिकाई भएको वरिष्ठ व्यवस्थापक खड्काले बताउनुभयो । उहा“ले बर्दियामा रुखमा सि सि क्यामेरा राखिएको, जमीनमुनी ५ फिट गहिरो खनेर अप्टिकल फाईवर जडान गरीएको बताउनुभयो । कर्णाली तटिय क्षेत्रमा जडान गरीएको सि सि क्यामेराबाट हात्ती, गैंडा बाघ लगाएतका वन्यजन्तुहरु समेत अवलोकन गर्न थालिएको छ । सि सि क्यामेराबाट वन्यजन्तु आवतजावत गरेको घाँसे मैदानमा चरेको लगाएतका दृश्यहरु हेर्न सकिन्छ । विशेषगरी हात्तीको बथान निकुञ्जको कुन स्थानमा रहेका छन् भन्ने सम्म अवलोकन गर्न सकिन्छ । अर्कोतर्फ हात्ती बस्ती नजिक पुग्दा स्थानीयवासीलाई सजग गराउने र हात्ती धपाउनका लागि निकुञ्जको टोली छिट्टै परिचालन गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्