बुटवल ३०, जेठ । प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको म्याद फेरि थप गरिएको छ । प्रदेशसभाको बिहीबारको बैठकले समितिको म्याद पुन ६ महिना थप गर्ने निर्णय गरेको हो । समितिको तेस्रो पटक म्याद थप गरिएको हो । प्रदेशको स्थायी राजधानी र नाम सिफारस गर्न गठन भएको विशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव संकलन गरिसकेको छ । सुझाव संकलन पश्चात भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविद्हरुसँग राय लिएर प्रतिवेदन पेश गर्न विशेष समितिले ६ महिना समय माग गरेकाले बिहीबारको बैठकबाट म्याद थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।
सात प्रदेश रहेको मुलुकमा १, ४, ६ र ७ प्रदेशले राजधानी र नामाकरण टुङगाएका छन् । संविधानको धारा २८८ मा भएको व्यवस्था अनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ । प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) को नियम १५२ मा व्यवस्था भए अनुसार विशेष समिति बनाइएको थियो ।
यसैबीच प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले खेती लगाउने समयमा कृषकलाई मलखाद र बिउ बिजनको अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले खेती लगाउने समयमा सधै किसानलाई मलखाद र बिऊ बिजनकै समस्या हुने गरेको भन्दै मलखादको उचित प्रबन्ध मिलाउन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्