
बुटवल, १३ जेठ ।
पार्टी एकिकरण भएको १ वर्ष पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा रुपन्देहीका कार्यकर्ताहरुले जिल्ला कमिटी सदस्यको हैसियतमा सपथ खाएकाछन् । रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले उनीहरुलाई सपथ खुवाउनुभएको हो ।
सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बिष्णु पौडेलले सांगठानीक सहित भावनात्मक एकतालाई बलियो बनाउनका लागि एकता प्रक्रियामा ढिलाई भएको बताउनु भयो ।
उहांले नेपाली कम्युनिष्ट आन्दोलनलाई नपढी अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई बुझ्न नसकिने बताउंदै बिश्व साम्राज्यबादले नेपालमा कम्युनिष्ट सिध्याउने खेल खेल्दा पनि नेपालमा कम्युनिष्ट जनमत बढ्दै गएको बताउनु भयो ।
कम्युनिष्ट पार्टीलाई बलियो बनाउन हरेक कार्यकर्ता बिचार, क्रियाशिलता र इमान्दारीताकसाथ अगाडी बढनुपर्ने उहांको बिचार थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश नम्बर ५ का ईन्चार्ज तथा ५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जनताले निर्वाचित सरकारहरुलाई सफल बनाउन सकेमात्र नेपालमा कम्युनिष्ट पार्टीको भबिश्य रहेको बताउनु भयो । पार्टी बलियो बनाउने मुल आधार भावनात्मक एकता भएको भन्दै पोखरेलले गुट झुण्डभन्दा माथि उठेर पार्टी बलियो बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सरकारको सफलतामा मौन बस्ने सिद्धान्तका मात्र कुरा गर्दा पार्टी गफाडीहरुको पार्टी जस्तो हुने समेत उहांले औंल्याउनु भयो ।
पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी निर्माणमा जति बढी गुटका बिषयमा छलफल भयो त्यति पार्टी बलियो बन्ने दाबी गर्दै गुट लुकाएर होईन लोकतान्त्रीक बिधीबाट अन्त्य गर्नुपर्ने बताउनु भयो ।
रुपन्देही जिल्ला कमिटीका अध्यक्ष शिवराज सुबेदीको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा प्रदेश कमिटी सचिव जग प्रसाद शर्मा, स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्मा लगायतका वक्ताहरुले पार्टीलाई बलियो बनाउन भावनात्मकरुपमा कार्यकर्ताहरु एक हुनु पर्नेमा जोड दिएका थिए ।




















प्रतिक्रिया दिनुहोस्