काठमाडौ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
आज विहान श्रीलंकाको राजधानी कोलम्बोसहित तीन जिल्लाका चर्च र होटलमा श्रृखंलाबद्ध बम आक्रमण हुँदा १ सय ९० जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते छन । प्रधानमन्त्री ओलीले सो घटनाको निन्दासमेत गर्नुभएको छ ।
‘आज विहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ,’ श्रीलंकाली प्रधानमन्त्रीलाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
‘यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु । नेपाल आतंकवादविरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । ‘दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभिएका छौ । म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्