काठमाडौ, ८ वैशाख । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर ११ महिनाअघि गठन भएको नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंग्याउन नेताहरूबीच बालुवाटारमा अहिले बैठक बसिरहेको छ। आइतबार बिहान ९ बजेदेखि बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णु पौडेलबीच अनौपचारिक बैठक जारी छ। नेता नेपाल निकट केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार आजको बैठकले जिल्ला अध्यक्ष र सचिव, पोलिटब्युरोको गठन र उपत्यका समितिको टुंगो लगाउने सम्भावना छ। नेकपाले सात प्रदेश कमिटीजस्तै र एउटा काठमाडौं उपत्यकाको कमिटी पनि बनाउने भएको छ।
‘उहाँहरूबीच शुक्रबार र शनिबार पनि छलफल भएको थियो। त्यही कुरालाई अन्तिम रूप दिन अहिले बैठक गरिरहनु भएको छ,’ रिजालले भने, ‘आज नेताहरूबीच कुरा मिल्यो भने भोलि बिहान सचिवालय बैठक बसेर भोलि नै त्यसको घोषणा हुन्छ होला।’
अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच छलफल भएपछि पछिल्ला केही दिनयता नेकपाको सांगठनिक एकता प्रक्रिया अगाडि बढेको थियो।
अप्रिल २२ मा भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो। यस वर्ष वैशाख ९ गते अप्रिल २२ परेको छ। सोही दिनको अवसरमा एकता पक्रिया टुंग्याउन नेताहरू घनिभूत छलफलमा जुटेका हुन्।
प्रतिक्रिया दिनुहोस्