बैशाख ७, बुटवल ।
बिर नेपालीको बिजयगाथा रचेको जितगढी किल्लामा उजिरसिंह थापाको प्रशंसा गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालोझण्डा देखाइएको छ ।
जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई ओलीको सम्बोधन कै बिचमा कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।
हजारौं स्थानीयबासीको सहभागिता रहेको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी प्रधानमन्त्रीलाई कालो झण्डा देखाईरहंदा केहिबेर प्रहरी तथा स्वयंसेवकहरु अलमलमा परेका थिए । कार्यक्रममा कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे भएको प्रहरीले बताएको छ ।
उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै कार्यक्रम स्थल प्रवेश गरेका घिमीरेले प्रधानमन्त्रीका बिरुद्ध भने कुनै नारा लगाएनन् । । मुकदर्शक जस्तै देखिएको प्रहरीलाई प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
उनी कुन पार्टी कार्यकता हुन् भन्ने पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले कालोझण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे रहेको पुष्टि गरे । प्रधामन्त्री ओलीले कसैले अराएर झण्डा देखाउन आएका होलान् भन्दै छाडीदिन निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्