काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने ऐतिहासिक कार्यक्रममा सहभागि हुनुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ । तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ ।
वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुंदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।
नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ । सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।
यसैगरी दिउसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै दिउसो २.४५ बजे प्रधानमन्त्री ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम भित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौं फर्कने कार्यक्रम रहको छ ।
प्रतिक्रिया दिनुहोस्