काठमाडौँ, ३ वैशाख । । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक–थ्रूु भएको छ।
नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण भएको उक्त सुरूङको मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक–थ्रूु गरिएको हो।
सुरुङ निर्माणको जिम्मा चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले पाएको थियो। आगामी २०७६ चैत १५ सम्म सक्नुपर्ने भनिएको सुरुङको निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो।
बबई नदीको किनारमा रहेको हात्तीखालबाट भेरी किनारको चिप्लेसम्मको चुरे पर्वत छिचोलेको सुरुङ १२ किलोमिटर २ सय १० मिटर लामो छ। २०७४ कात्तिकदेखि टिबिएम प्रविधिको प्रयोग गरी सुरूङ खन्न थालिएको थियो। आर्थिक वर्ष २०६८र६९ बाट सुरु भएको यस आयोजना आर्थिक वर्ष २०७७र७८ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर, तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ। कुल १६ अर्ब ४३ करोड रुपैयाँ लागतमा सकिने भनिएको आयोजनाको लागि झन्डै दोब्बर लगानी लाग्ने देखिएको छ। आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ। साथै, ४६ मेगावाट बिजुली उत्पादन पनि हुनेछ। ब्रेक–थ्रूु कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए।
सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा टनेल बोरिङ मेसिनका कारण त्यसको एक वर्षअघि नै सुरुङ निर्माण कार्य पूरा गरिएको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजना प्रमुख सञ्जीव बरालले बताए । उनले निर्धारित समयभन्दा एक वर्ष पहिले नै सुरुङ निर्माण कार्य पूरा गर्नु आफैमा ठूलो उपलब्धि भएको जनाउँदै यो आयोजनाको सुरुङ निर्माण कार्यले निर्धारित समयभन्दा पनि पहिले काम पूरा गर्न सकिने सन्देश दिएको जानकारी दिए ।
आजै सुर्खेत आएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्