काठमाडौं, ३० वैशाख । नेपाल बार एशोसिएशनले प्रतिनिधि सभाका सदस्यको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार सभामुख डोलप्रसाद अर्याललाई पत्र लेख्दै संसदमा न्यायालयको मानमर्दन हुने गरी हुने छलफल र टिप्पणी रोक्न आग्रह गरेको हो।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद गणेश पराजुलीले का.मु. प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको भनी दिएको अभिव्यक्तिप्रति बारले कडा आपत्ति जनाएको हो।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले पठाएको पत्रमा साम्सदको अभिव्यक्तिले विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको अवधारणामाथि प्रहार गरेको उल्लेख गरिएको छ।
बारले पत्रमा भनेको छ, ‘उक्त सम्बोधनबाट दुई तिहाइउपर कसैले केही बोल्न नपाइने भन्ने सन्देश दिन खोजेको आम बुझाइ हुन गएको छ। यो स्पष्टतः निरंकुशताको बीजारोपण र प्रबर्द्धन हो भन्नेमा कुनै विवाद रहेन।’
नेपाल बारले संविधानको धारा १०५ लाई स्मरण गराउँदै संघीय संसदको कुनै सदनमा न्याय सम्पादनको विषयमा बहस गर्न नपाइने संवैधानिक व्यवस्था रहेको तथ्यलाई जोड दिएको छ। यस्ता टिप्पणीले न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा प्रतिकूल असर पर्ने भन्दै बारले विगतको नजिर (सर्वज्ञरत्न तुलाधरविरुद्ध राष्ट्रिय पञ्चायत) लाई समेत उल्लेख गरेको छ।
संसद बैठकमा न्यायालयको मर्यादामा आँच आउने किसिमका टिप्पणी हुन नदिने प्रबन्ध मिलाउन र यस विषयमा आवश्यक रुलिङ गर्न नेपाल बार एशोसिएशनले सभामुखसमक्ष आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्