काठमाडौं, ३० वैशाख । सुकुम्वासीमाथि राज्यले दमन गरेको आरोप लगाउँदै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । संयुक्त संघर्ष समितिको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आन्दोलनकारीहरूले सुकुम्वासी बस्ती हटाउने सरकारी कदमको विरोध गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले काठमाडौं उपत्यकाका सुकुम्वासी बस्तीमा भइरहेको डोजर अभियान, बढ्दो महँगी र राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपविरुद्ध नाराबाजी गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुम्वासीमाथि दमन गरिरहेको आरोप लगाए । उनले सुकुम्वासीको समस्या समाधान गर्नुको सट्टा बल प्रयोग गरिएको भन्दै त्यसको विरोधमा राजनीतिक दल, नागरिक समाज र मानवअधिकारकर्मीहरू एकजुट हुनुपर्ने बताए ।
उनले गरिब र भूमिहीन नागरिकमाथि निरन्तर अन्याय भइरहेको दाबी गर्दै सुकुम्वासी बस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरे ।
प्रदर्शनका क्रममा सहभागीहरूले सुकुम्वासीको उचित व्यवस्थापन नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्