काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीले अपनत्व नलिएको आरोप लगाएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा काँग्रेस राष्ट्रिय सभाका सचेतक पदम परियारले राष्ट्रिपतिले प्रधानमन्त्रीले अपनत्व नलिएको नीति तथा कार्यक्रममाथी छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको बताउनु भयो । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा प्रधानमन्त्री संसद छाडेर निस्किनुभएको थियो । उक्त घटनालाई विपक्षी दलहरुले असंवैधानिक र अमर्यादित हर्कत भएको भनी आलोचना गरिरहेका छन् । परियारले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला देखिएको असंसदीय, अधैर्य, अशिष्ट र अमर्यादित व्यवहारले लोकतान्त्रिक मूल्य र संसदीय संस्कारमाथि ठूलो प्रहार भएको बताउनु भयो । नेपालको संसदीय इतिहासमै पहिलो पटक यस्तो प्रकारको व्यवहार देखिएको उल्लेख गर्दै उहाँले लोकतन्त्रप्रति आस्था राख्ने नागरिकहरू दुखित भएको बताउनु भयो । उहाँले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा सांसदहरू मनोमानी ढंगले उठेर हिँड्ने प्रवृत्तिले संसदीय अभ्यास र मर्यादामाथि प्रश्न उठाएको बताउनुभयो । यस्तो खालको असंसदीय व्यवहार सहन नसकिने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघीय संसदको बैठकमा नेपाल सरकारको तर्फबाट सम्माननीय राष्ट्रपतिज्युबाट नेपाल सरकारको नीति तथा कार्यक्रम बाचन भईरहँदा नेपालको ईतिहासमा जसरी पहिलो पटक असंसदीय, अधैर्य, अशिष्ट र अर्मादित व्यवहारको साक्षी हामी हुनुप¥यो । नेपालका तमाम् लोकतन्त्रबादी शक्ति, नागरिक दुःखी भएका छन् । यस्तो अशिष्ट व्यवहार रहिरहँदा लोकतन्त्रप्रति ठुलो प्रहार भएको हामीले महसुस छौँ । आजदेखी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथी छलफल हुने कार्यसूची छ । तर यस्ता खालका अलोकतान्त्रिक र अर्मादित व्यवहारहरु भईरहँदा नेपाल सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रिपतिले प्रश्तुत गरिरहँदा राष्ट्रिपतिको कार्यक्रमजस्तो गरेर संसदीय सांसदहरुले मनलाग्दी छोड्दै जाने हो भने संसदीय अभ्यास, संस्कार कसरी कायम राख्न सकिएला ? अध्यक्षज्यूमार्फत नेपाल सरकारलाई प्रश्न गर्न चाहन्छु । यस्तो खालको असंसदीय व्यवहार अब सहन सकिदैन । प्रधानमन्त्रीले यसबारेमा के भएको सदनमा आएर जानकारी गराउन माग गर्दछु । नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीले नै अपन्वत्व नलिएपछि यहाँ नीति तथा कार्यक्रममाथी छलफल गर्ने कि नगर्ने प्रश्न उठेको छ । यसको बारेमा सदनलाई जानकारी गराइयोस् । अध्यक्षज्यूवाट यसको रुलिङ होस् भन्ने माग गर्दछु ।’
परियारले प्रधानमन्त्रीले नै अपनत्व नलिएको अवस्थामा संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्नुको औचित्य के हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । यस विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने उहाँको माग छ ।







प्रतिक्रिया दिनुहोस्