
काठमाडौं, २९ चैत्र ।
कविराज विसी
अस्ति भर्खरै आएजस्तो लाग्छ वर्ष २०७५ साल । विदाईको तर्खर सुरु भैसकेको छ । राजनीतिक, आर्थिक हिसाबले आम जनताको नजरमा यो वर्ष निकै आशामा वित्दैछ । तर उपलब्धी भने आशाअनुरुप हुन सकेन । सरकारले विकास र समृद्धिको आधार वर्ष भन्यो ।
आम जनताले त्यसैअनुसार व्यवहार होला भन्ने अपेक्षा गरे । वर्षको पूर्वार्ध त्यति सहज नभएपनि उत्तरार्धमा भने विकासका लागि केही आधार मिलेको हो कि भन्ने आशा जगाएको छ ।
२०७५ साल आगमन सगै मूलुकले स्थायी र बहुमतको सरकार पाएको थियो त्यसैले पनि २०७५लाईै आशाको मान्न सकिन्छ । संयुक्त वाम गठबन्धनका नेता र संसद्को सहज बहुमत प्राप्त प्रधानमन्त्रीका रूपमा केपी ओलीले प्रधानमन्त्री पाएको १४ महिना सगै २०७५ साल विदाई हुंदैछ ।
२०७५ सगै मुलुकमा पहिलो त देशमा पहिलोपटक सातवटा प्रदेश सरकार गठन भएका थिए । आमजनता एउटा स्थिर सरकारसहित आर्थिक गतिशीलताको प्रतीक्षामा यस वर्ष वितेको छ भन्न उपयुक्त होला । यसै वर्षमा अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको श्वेतपत्रलाई आधार मान्ने हो भने’ तन्नम हालतमा भएको अर्थतन्त्रमा निकै सुधार आएको मान्न सकिन्छ ।
सरकार स्वयंले यो वर्षलाई मुलुकको विकास र समृद्धिका लागि आधार वर्षको रुपमा व्याख्या गरको छ । विकास र समृद्धिका लागि वर्षको पूर्वार्धमा र मध्यान्नमा त्यति धेरै आशावादी हुने ठाउं देखिएन । आर्थिक परिसूचकहरु नकारात्मक देखिए ।
तर, वर्षको उत्तरार्धमा भने सरकारलाई सहयोग गर्ने सूचकहरु आए । एकातिर मौसम अनुकुल हुंदा कृषि उत्पादन बढ्यो भने अर्कोतिर सरकारले लगानी सम्मेलनमार्फत विदेशी एवं स्वदेशी लगानीकर्तालाई नेपाल लगानीका लागि भर्जिन ल्याण्ड भएको सकारात्मक सन्देश दिन सफल भयो । विश्व बैंकको प्रक्षेपण अनुसार ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि सरकारका लागि सन्तोषको विषय बन्न पुग्यो । यसै वर्ष सरकारको मुख्य काम भनेको कानुन निमार्ण गर्नुपर्ने थियो, यसमा पनि कानुन र नीतिगत सुधार भएको छ । सुधारोन्मुख कानुनमा विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी ऐन, लगानी बोर्ड ऐन लगायतका छन् ।
यस वर्ष धेरैले नपत्याएका तर प्रधानमन्त्रीले निरन्तर दाबी गरेकोजस्तो ठूला विकासे आयोजना र तीव्र आर्थिक विकासका कुनै गतिविधि भएनन् । लगानी सम्मेलनमार्फत गरिएको प्रतिवद्धता कार्यान्वयनमा आउने हो भने वर्ष २०७६ विकासको वर्ष हुनेछ । त्यतिबेला मात्र वर्ष २०७५ लाई विकास र समृद्धिको आधार वर्ष रहेछ भन्न सकिन्छ ।
वर्ष २०७५ मा सरकारले जनताको विश्वास जित्न केही प्रयास भने अवश्य गरेको छ । सामाजिक सुरक्षा कार्यक्रममार्फत आम श्रमजीवी र कामदारलाई समेट्न गरिएको प्रयास गरिएको छ । वैदेशिक रोजगारीमा ठगिने प्रवृतिमा केही हदसम्म भएपनि बिराम लागेको छ ।
समृद्धिको सपना बारम्बार देखाइरहेको हुनाले यो सरकारलाई नाप्ने सबभन्दा उचित कसी भनेको आर्थिक वृद्धि नै हुन सक्छ । अघिल्लो दुई वर्षको छ प्रतिशतभन्दा माथि वृद्धि भएको अर्थतन्त्रको जगमा यसपालि लगातार तेस्रो वर्ष उच्च वृद्धि हुने देखिन्छ । सरकारकै भनाइ मान्ने हो भने यसपालिको वृद्धि सात प्रतिशतभन्दा माथि पुग्छ । गरिबी निवारण तथा उच्च दरमा विकास गर्न आर्थिक वृद्धिलाई मूल आधार मान्ने गरिन्छ ।
रेमिट्यान्सको बदलिँदो प्रवृत्तिलाई सरकारले देशभित्रै रोजगारीको अवसर धेरै सिर्जना भइरहेको स्थितिसँग जोडेको छ । गत छ महिनाको आर्थिक अवस्थाबारे नेपाल राष्ट्र बैकले प्रकाशन गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसपालि वैदेशिक रोजगारमा जानेको संख्या झन्डै ४० प्रतिशतले झरेको देखाएको थियो । तर देश भित्रिने रेमिट्यान्सको रकम भने ३० प्रतिशतले बढेको छ । यो अवधिमा ४४३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यसैले पनि २०७५ साल आर्थिक रुपमा सवल हुँदै गएको देखिन्छ ।
संघीयता कार्यान्वयनका सन्दर्भमा बनाउनुपर्ने ऐन तथा कानुनहरूको मस्यौदा र कतिपय कानुन बनाइनु सकारात्मक सफलता हो । वैदेशिक सम्बन्धलाई अनुकूल बनाउन गरिएका प्रयास निकै सकारात्मक भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र राष्ट्र संघ, स्वीजरल्याण्डको डाभोस लगायतको भ्रमण भएको छ । चीनसंग व्यापार तथा पारवहन सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । सन्तुलित विदेश नीति बनाउन प्रयत्न भएको छ । तर, अमेरिकाले एशिया प्यासिफिक कमाण्डको छातामा राख्न दबाब दिएको विषय भने चिन्ताजनक रह्यो ।
तर आशा र भरोशाको गर्दै गरेका नेपालीका वीच यसै वर्षको अन्तीममा अलि दुखदायी बन्न पुग्यो यहि चैत १६ गते आइतबार साँझ एक्कासि आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तीमा २७ जनाको ज्यान गयो भने ६ सय भन्दा बढि घाइते भए । बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा २६ जनाको मृत्यु भएको छ भने वीरगञ्ज–१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भयो । नेपाल यति भिषण हावाहुरी आएको पहिलोपटक थियो जसको नाम टार्नेडो राखियो ।



















प्रतिक्रिया दिनुहोस्