
काठमाडौं,२७ चैत । राष्ट्रिय जनता पार्टीले पुर्व न्यायाधिश गिरिस चन्द्र लाल नेतृत्वको छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै मुलुकभर प्रर्दशन गर्ने तयारी गरेको छ ।
मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक लगायतका माग गर्दै पर्सि शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन कोणसभा गर्ने गरि पार्टी भित्र आन्तरिक सर्कुलर जारी गर्ने निर्णय गरेको हो ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको राजपाले सरकारलाई दबाब दिन सडक संघर्षको कार्यक्रम तय गरेको हो । राजपाले संविधान संसोधन, जेलमा रहेका रेशम चौधरी लगायत आन्दोलनकारीको तत्काल रिहाई, आन्दोलनकारी माथिको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्न माग गरेको छ ।
त्यसैगरी राजपाले भ्रष्टाचारी, कालोबजारी, मंहगी, बेरोजगारी अन्त्य गर्न , राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्न तथा राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द लगायत ९ बुँदे माग अघि सारेको छ । पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बसेको बैठकले मुलुकभर प्रर्दशन गर्ने गरि पार्टीको तल्लोतहसम्म सर्कुलर जारी गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिनुभयो ।
महासचिव झाका अनुसार अध्यक्ष मण्डलको बैठक विहिबार पनि बस्नेछ । बैठकमा महाधिवेशनका सम्बन्धमा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीका तर्फबाट प्रस्तुत तीन विकल्पका बारेमा छलफल चलिरहेको छ ।
संयोजक भण्डारीले पार्टीको तल्लो तह देखि विधान संसोधन गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि कम्तिमा ४ महिना महाधिवेशनको समय सार्ने , वडा अधिवेशन र प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन गर्ने तथा एकता वा विशेष महाधिवेशन गर्ने गरि तिन विकल्प अघि सार्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्