म्याग्दी, २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको स्वास्थ्य चौकीमा सिटामोल लगायतका अत्याबश्यक औषधीको अभाब भएको छ । गाउँपालिका मार्फत औषधी खरिदमा ढिलाई हुँदा स्वास्थ्य चौकीमा औषधीको अभाब भएको हो ।

स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध हुने भएपनि अहिले ३ प्रकारका औषधी मात्रै रहेको स्वास्थ्य चौकीका अहेब चन्द्रनारायण चौधरीले जानकारी दिए । उनका अनुसार, सिटामोल लगायतका औषधी बिगत २ महिनादेखि अभाब भएको हो ।
बर्थिङ सेन्टरको सेवा समेत दिदै आएको स्वास्थ्य चौकीमा एन्टीबायोटिक औषधीको समेत अभाब हुँदा उपचार र सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकीका इन्चार्ज गंगा बहादुर बुढाथोकीले जानकारी दिए । मौसम परिवर्तन संगै स्वास्थ्य चौकीमा आउने विरामीहरुको सख्ंया बढ्दो क्रममा रहेपनि औषधी अभाबले विरामीहरुले क्लिनिकबाट औषधी खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाभित्रका स्वास्थ्य चौकीहरुमा परिवार नियोजनका अस्थायी साधनहरुको समेत अभाब देखिएको छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले व्यवस्थापन समिति र वडा कार्यालय संग समन्वय नगर्ने र अभाब भएका औषधीको समयमै माग नगर्दा समस्या देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् ।
उनले गाउँपालिकाले औषधी खरिदमा विनियोजन गरेको रु १५ लाख बजेटबाट समेत औषधी खदिरको काम अघि बढेको बताउँदै जिल्ला स्वास्थ्य र गण्डकी प्रदेश सरकारसंगको समन्वयमा समेत आफुले पटक पटक अत्याबश्यक औषधीहरु ल्याएर स्वास्थ्य चौकीहरुलाई मागको आधारमा वितरण गर्दै आएको बताईन ।
स्थानीय तह कार्यान्वयनमा आएसंगै स्वास्थ्य चौकीहरुको व्यवस्थापकिय जिम्मेवारी स्थानीय तहमा आएपनि आबश्यक जनशक्ति र पूर्वाधारको अभाबसंगै कर्मचारी र जनप्रतिनिधिबिच समन्वयको अभाबले स्वास्थ्य सेवा प्रभावित बनेको छ । स्वास्थ्य चौकीहरुमा आबश्यक औषधीको बन्दोबस्त मिलाउनतर्फ सम्बन्धित सरोकारवाला गम्भीर बन्नुपर्ने देखिएको छ ।



















प्रतिक्रिया दिनुहोस्