काठमाडौं, २५ चैत । कर्मचारी समायोजन अध्यादेश २०७५ ले चिकित्सकहरुमाथि अन्याय भएको भन्दै गत पुषको अन्तिम सातादेखि आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा बहिष्कार गरेपछि दैनिक हजारौँ बिरामीहरु मारमा परेका छन् ।
काठमाडौँको बिर अस्पतालमा गाउँबाट उपचारका लागि आएका बिरामीले अस्पतालले नै तोकेको समयमा उपचार गर्न नपाउँदा स्वास्थ्य अवस्था र आर्थिक बोझले सताएको बताएका छन् । आन्दोलनरत चिकित्सकहरुले आफुहरुको आन्दोलन अनिश्चितकालको लागि भएको बताएका छन् ।
सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका ओपिडी सेवा बहिष्कार गरेपछि बिरामीको उपचार गर्न समस्या भएको छ । कर्मचारी समायोजन विधेयक २०७५ ले चिकित्सकहरुमाथि अन्याय भएको भन्दै उनीहरु गत पुसको अन्तिम सातादेखि नै आन्दोलित छन् । यस अघिपनि ओपिडी सेवा बहिष्कारसम्मको आन्दोलन गर्दै आएका थिए । शुक्रबारदेखि पुनः अस्पताल नै अस्तव्यस्त हुनेगरी आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालमा उपचार गर्न जाने बिरामीको बिचल्ली भएको छ । काठमाडौको वीर अस्पतालमा उपचार गर्न आएका बिरामीले चिकित्सकहरुको आन्दोलनका कारण आफुहरु मर्कामा परेको बताएका छन् ।
उदयपुरबाट भाइको मृगौलाको अप्रेशन गर्न आएका रमेश ठकुरीले आइतबार अप्रेशन गर्ने समय पाएका थिए । तर अप्रेशन गर्न आउँदा उल्टै चिकित्सकहरुले तपाइहरु पनि आन्दोलनमा लाग्नुस् भन्दै हप्काएर पठाए । आन्दोलन कहिलेसम्म हुने हो र उपचार कहिले सक्ने भन्ने चिन्ता उनीहरुमा परेको छ ।
देशभरकै सरकारी अस्पतालको अवस्था उस्तै छ । सेवाग्राही मर्कामा परेका छन् । खासगरी सरकारी अस्पतालमा निम्न आयस्तर भएका जनता जाने गर्छन् । वीर अस्पतालमा त झनै दुर दराजका गाउँघरबाट बिरामीहरु उपचारका लागि आउने गर्छन् । समयमै उपचार नसके उनीहरुले बढी आर्थिक भार व्यहोर्नुपर्ने हुन्छ र उपचार नगरी फर्कनुपर्ने बाध्यता समेत कतिपय छ । वीर अस्पतालमा भेटिने बिरामी र बिरामी कुरुवाले चिकित्सक सँग भेट गर्नै नपाएको र आफ्नो उपचार गर्नेबारेबारे सोध्दा कर्मचारीले कुनै जानकारी नभएको बताएका कारण सर्वसाधारण अन्योलमा परेका छन् ।
कर्मचारी समायोजन विधेयक– २०७५ ले चिकित्सकहरुको वृत्ति विकासमा छेकवार गरेको र चिकित्सको सरुवा रोक्दै एकै ठाउँमा जिन्दगीभर काम लगाउन खोजेको भन्दै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । समायोजन विधेयक कुनै पनि हालतमा सच्याउनुपर्ने उनीहरुको माग छ । उनीहरु प्रदेश र स्थानीय निकायको मातहतमा जान तयार देखिएका छैनन् र आन्दोलन गरिरहेका छन् ।
आन्दोलनरत चिकित्सकको भनाइ अनुसार आन्दोलन अनिश्चितकाल सम्मको लागि हुनेछ । अर्थात ओपिडी सेवा अनिश्चित कालको लागि बन्द छ । जसका कारण दैनिक हजारौँ बिरामीहरु मारमा परिरहेका छन् । रौतहटबाट उपचारका लागि वीर अस्पतालमा आएका कमल सापकोटा सरकारी अस्पतालमा सस्तो होला भनेर आएका थिए, तर उनलाई सरकारी अस्पतालको यो पाराले कतिदिन बस्ने भन्ने कुराले चिन्तित तुल्याएको छ ।
चिकित्सकको पेसा मानविय दृष्टिले अति संवेदनशील पेसा हो । एकातिर बिरामी छटपटाइरहेका छन् अर्कोतिर चिकित्सकहरु देखेको नदेखेझैँ आन्दोलन गरिरहेका छन् । सेवा नै ठप्प गरेर आन्दोलनमा उत्रिने चिकित्सकहरुको यो परम्परावादी राजनीतिक आन्दोलन जस्तो प्रकृति गलत छ । आन्दोलनको प्रकृति फेर्दै बिरामीको उपचार गर्नु आवश्यक छ । सरकारले पनि उनीहरुको जायज मागलाई वार्ता, सम्वादबाट छिटो भन्दा छिटो हल गर्नुपर्दछ । अन्यथा मारमा भने केवल सर्वसाधारण जनता मात्र पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्