काठमाडौं,१८ चैत । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक संजाल प्रयोगकर्ताहरुलाई नियन्त्रण हुनेगरी सरकारले कुनै पनि कानुनी व्यवस्था गर्न नचाहेको बताउनुभएको छ ।
मन्त्री बास्कोटाले सामाजिक संजाल कम्पनीहरुलाई भने नियमनको दायरामा ल्याउन दर्ता गर्ने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।
सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिंदै उहाँले सामाजिक मूल्य, मान्यता विपरीत हुने गरी सामाजिक संजाल प्रयोग गर्ने कम्पनीलाई भने सरकारले कडा कारवाही गर्ने गरी कानुनी व्यवस्था गर्ने उल्लेख गर्नु भयो ।
मन्त्री बास्कोटाले युरोप र अमेरिकी मुलुकमा पनि सामाजिक मूल्य र मान्यता विपरीतका सूचना प्रवाह गर्ने सामाजिक संजाल कम्पनीलाई कार्वाही गर्ने कानुनी व्यवस्था गरिएको स्मरण गराउनु भयो ।
नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ता रहेका छन् । त्यसैगरी ६० लाख युट्युब प्रयोगकर्ता र ४० लाख ट्वीटर प्रयोगकर्ता रहेको संचार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले जानकारी दिनु भयो मन्त्री बास्कोटाले सूचना प्रविधिका कारण हुने असहजतालाई नियन्त्रण गर्न सरकारले सोसम्बन्धी कानुनलाई व्यवस्थित बनाउन लागिएको समितिलाई जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्