काठमाडौं,१८ चैत । सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न कल सेन्टर संचालनमा ल्याएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको गुनासो सुनुवाई गर्न सोमबार सोही मन्त्रालयमै स्थापना गरिएको कल सेन्टरको शुभारम्भ गर्नु भएको हो ।
वैदेशिक रोजगार, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रमसँग सम्बन्धित सबै विषयको गुनासो सुन्ने र तत्काल समाधान गर्ने मुख्य उद्देश्यका साथ सो कल सेन्टरको स्थापना गरिएको पनि मन्त्री विष्टले जानकारी दिनु भयो ।
हालका लागि बिहान ७ बजेबाट बेलुका नौं बजेसम्म सेवा दिने व्यवस्था मिलाइएको सो कल सेन्टर आवश्यक्ता अनुसार २४ औं घण्टा संचालन गर्ने व्यवस्था पनि गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्री विष्टले कल सेन्टरले सेवाग्राहीको गुनासो तत्काल सुनुवाई गरी सम्बन्धित निकायमार्फत् समाधान गराउने कामलाई चुस्त बनाउने विश्वास पनि व्यक्त गर्नु भयो ।वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका विविध समस्या आएपछि ती समस्या समाधान गर्न सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कल सेन्टरको व्यवस्था गरेको हो ।
कल सेन्टरमा गुनासो टिपाउन ११४१ वा १६६००१५०००५ नम्बर कल गर्न सकिनेछ । विदेशबाट भए इमेल, फेसबुक, इमो, भाईबर, आदिजस्ता नेटवर्कमार्फत् निःशुल्क रुपमा +९७७१५९७०००८ नम्बरमा कल गर्ने व्यवस्था गरिएको पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ
प्रतिक्रिया दिनुहोस्