
नेपालगन्ज, १५ चैत्र । बाँकेको नेपालगन्जमा हतियार मर्मत गर्ने केन्द्रको आडमा हतियार कारखाना नै सञ्चालन गर्ने गरेको फेला परेको छ । नेपालगन्ज उप–महानगरपालिका ५ डिएसपी रोडमा रहेको जंगबहादुर नेपालीको हतियार मर्मत केन्द्रमा छापा मार्दा हतियार मर्मत केन्द्रको नाममा कारखाना नै सञ्चालन गरेको प्रहरीले फेला पारेको हो ।
पाँच नम्बर प्रदेश अनुसन्धान समुह नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जको सयुक्त टोलीले उक्त मर्मत केन्द्रमा छापा मारेको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण पौडेलले मर्मत केन्द्रमा छापा मारेको पुष्टी गरे । मर्मत केन्द्रबाट केही थान अवैध घरेलु हतियार र ती हतियार बनाउने सामग्री पनि बरामद गरिएको उनले जानकारी दिए । नेपालीले लाइसेन्स लिएर हतियार मर्मतको काम गर्दै आएको बताइएपनी हतियार मर्मतको कुनै विवरण राखेको पाइएको छैन, प्रहरी निरीक्षक डाँगीले भने, मर्मत केन्द्रको नाममा अवैध घरेलु हतियारको कारोबार हुने गरेको समेत देखिन्छ । कारखानामा पुगेका एक प्रहरी अधिकारीले अनुमती लिएर मर्मत केन्द्र सञ्चालन गरेपनी नयाँ घरेलु हतियार समेत बन्ने गरेको जानकारी दिए ।
प्रहरीका अनुसार कारखानाबाट विभिन्न हतियारमा प्रयोग हुने लामो नाल १० थान, हतियारमा प्रयोग हुने काठको कुदा ७ थान, सानो एयरगन पेस्तोल १ थान, हतियारमा प्रयोग हुने स्पिङ ३ थान, औजारको बक्स १ थान, आइरन १ थान र हतियारमा प्रयोग हुने साँचोहरु बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले बरामद गरिएका हतियारसँगै मानिस समेत कार्यालय ल्याउदै गरिएकाले अनुसन्धान जारी गरेको बताए ।



















प्रतिक्रिया दिनुहोस्