
काठमाडौं १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई) आजदेखि शुरु भएको छ । एसईई परीक्षामा नेकपा सांसद शान्ता चौधरी जेष्ठ वृद्धा युग माया कार्की र चलचित्रकर्मी करिश्मा मानन्धर सहभागी हुनुभएको छ । सांसद चौधरीले महेन्द्र मावि तुल्सीपुरबाट परीक्षा दिइरहनुभएको छ ।
६७ वर्षीया युग माया कार्की काठमाडौंको सिद्धेश्वर मावि केन्द्रबाट परीक्षा दिइरहनुभएको छ । सम्भवत कार्की नै यस वर्षको जेष्ठ परीक्षार्थी भएको सिदेशवर मावि परीक्षा केन्द्रको दाबी छ ।
त्यस्तै, चलचित्रकर्मी तथा नायिका करिश्मा मानन्धरले विजय स्मार मावि केन्द्रबाट परीक्षा दिइरहनु भएको छ ।

परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् । आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी छन् ।

परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ, भने १ हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सह–केन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्