काठमाडौं , ३ चैत । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकिकरण प्रक्रिया झनझन जटिल बन्दै गइरहेको छ । शिर्ष नेताहरु नै गुटगत राजनीति र भागबन्डामा रमाउन थालेकाले एकिकरण प्रक्रिया टुंगोमा पुर्याउन नसकिएको पार्टीका नेताहरु बताउँछन् । एकिकरण प्रक्रियाले लामो समय लिए कार्यकर्ता पलायन हुने, जनमत अरु नै पार्टीमा जाने र अन्ततः नेकपा विघटनको संघारमा पुग्ने खतरा नेताहरुले औँल्याएका छन् ।

तत्कालिन दुई पार्टी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच जेठ ३ गते एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्यो । जुन अहिले संसदमा सबैभन्दा ठुलो दलको रुपमा रहेको छ भने सरकारको नेतृत्व समेत गरिरहेको छ ।
पार्टी एकिकरण पछि तिन महिनामा पार्टीका सम्पूर्ण तह र जनवर्गिय संगठनको एकिकरण गरिसक्ने भनिएको भएपनि करिब १० महिना बितिसक्दापनि केन्द्रीय कमिटी र प्रदेश कमिटीको एकिकरणबाहेक अरु काम हुन सकेको छैन ।
पछिल्लो समय बसेको नेकपाको स्थायी कमिटीको बैठकले पार्टी एकिकरणका आवश्यक कामको अध्ययन गरेर प्रतिवेदन बुझाउने र समयमै एकिकरण सम्पन्न गर्ने भनिएको थियो तर त्यो कार्यदलपनि सचिवालयले भंग गरेपछि कार्यदलले छुट्टाछुट्टै दुई प्रतिवेदन पार्टी अध्यक्षद्धयलाई बुझाइएको छ । कुनै निष्कर्ष आउन सकेको छैन । पार्टी कार्यकर्ता मात्र होइन, शिर्ष तहका कयौँ नेता समेत अन्योलमा परेका छन् ।
पार्टीमा शिर्ष तहदेखि नै गुट उपगुटको जन्म भएको र गुटगत भागबन्डा खोजिएका कारण पार्टी एकता प्रक्रिया लम्बिएको हो । प्रदेश कमिटीको निर्माण गरेसँगै नेकपाको विवाद छताछुल्ल भएर बाहिर आएको थियो । त्यसयता नेकपाका शिर्ष नेताहरुविच नै पार्टी एकिकरणप्रक्रियाको सन्दर्भलाई लिएर सार्वजनिक रुपमा टिकाटिप्पणी गर्ने गरिएको देखिएको छ । गुटउपगुटका स्वार्थका कारण शिर्ष नेतृत्व पार्टीएकिकरणलाई टुंग्याउन तत्पर नहुनुले ढिलाइ भएको नेकपाका स्थायी कमिटी सदस्य गणेश शाह बताउँछन् ।
पार्टी भित्र कुनै पनि नीतिगत मतभिन्नता नरहेको स्थायी कमिटी सदस्य लिलामणी पोखरेलको भनाइ छ । गुट उपगुटको सन्तुलन मिलाउन नसकेको कारण पनि एकता प्रक्रिया झनझन जटिल बन्दै गएको कुरा उनी स्वीकार्छन् ।
कार्यकर्ता मात्र होइन, यतिखेर नेकपाका नेतापनि बेरोजगार छन् । उनीहरुले गुटउपगुटको प्रभावमा शिर्ष तहमा दबाब सिर्जना गर्न सकेका छैनन् । पार्टी एकिकरण प्रक्रियालाई पूर्णता दिन अबिलम्ब पहल नगरे नेकपा विघटनको संघारमा हुने पोखरेलको भनाइ छ । कार्यकर्ता पलायनहुने र अर्को पार्टीमा जनमत गएर नेकपाको विघटन हुनसक्ने खतरा औँल्याउँछन् उनी ।
नेतृत्वले गुट उपगुटबाट माथि उठेर एकिकरणप्रति सम्बेदनशिल भई काम पुरा गर्न स्थायी कमिटी सदस्य गणेश शाहको सुझाव छ । पार्टीलाइ गतिशिल र चलायमान बनाउन नेतृत्व क्रियाशिल हुनुपर्ने उनको भनाइ छ ।
पार्टी र सरकारले समृद्धिको नारा पढाएको पढाएकै छ । देशको नेतृत्व गर्न जनमत पाएको नेकपा पद, प्रतिष्ठा, भागबन्डा र गुट उपगुटमा विभक्त हुनु शोभनिय छैन । यसले नेकपाको राजनीति के का लागि हो त ? भन्ने प्रश्न जनमानसमा उठ्न थालिसकेको छ । गुटगत राजनीतिबाट माथि उठेर पार्टी बनाउनु नै अहिले नेकपाको मुख्य कार्यभार हो ।
प्रतिक्रिया दिनुहोस्