बुटवल, २५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले मुलुकमा शान्ति प्रक्रियाले गति लिएका बेला खोट खोज्दै जानु गलत हुने बताउनु भएको छ ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानको आठौं साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले शान्तिका लागि गरेको कार्यको महत्वलाई नबुझी केहि मान्छेहरु खोट खोज्दै हिंडेको आरोप लगाउनु भयो । उहांले सरकार र सिके राउतले नेतृत्व गर्ने समुह बिच भएको सहमती महत्वपूर्ण उपलब्धी भएको भन्दै मुलुकलाई शान्ति, स्वतन्त्रता र स्थिरता अगाडी बढाउन सहमती गर्न आवश्यक रहेको बताउनु भयो । राष्ट्रको बिखण्डनको पक्षमा रहेको शक्तिलाई राजनितीको मुलधारमा ल्याईएको दाबी गर्दै महासचिव पौडेलले राष्ट्रिय स्वाधिनता र अखण्डताको पक्षमा सरकारले सहमती गर्दा कोही तिलमिलाई रहेको टिप्पणी गर्नुभयो । सहमतीसंगै बिखण्डनबादी शक्तिको बहानामा खेल्ने शक्तिको खेल मैदान सकिएको उहांको भनाई थियो ।
स्वतन्त्र मधेस गठबन्धनसंगको सहमतिलाई नेकपा नेता भिम रावल लगायतले बिरोध गरिरहेका बेला महासचिव पौडेलको यस्तो टिप्पणी आएको हो ।
महासचिव पौडेलले नेपालमा कम्युनिष्ट नेताहरुले असम्भव जस्तो देखिने कामहरुलाई सजिलै सम्भव बनाएको भन्दै आमरुपमा कल्पना नगरिएको पार्टी एकता देखि सरकार गठन सम्मका कामहरु नेताहरुले गर्न सकेको चर्चा गर्नुभयो ।
पौडेलले आजै प्रतिष्ठानले स्थापना गरेको जिवराज आश्रीत संग्रालयको समेत उदघाटन गर्नुभएको थियो । आश्रितको पुर्णकदको सालिक सहत राखिएको संग्रालयमा आश्रितका जिवनसंग जोडिएका बिभिन्न सामाग्रीहरु राखिएका छन् । २०६६ सालमा गठन भएको प्रतिष्ठानले आश्रितको कार्यक्षेत्र बुटवल रहेको भन्दै बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आश्रितको जिवनशैली र कठोर अनुशासनको स्मरण गरेका थिए । नेता आश्रित र एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परि निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्