काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भौगोलिक अखण्डता एक ईन्च पनि छुट्याउन नसकिने बताउनु भएको छ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन र सरकार बिच सहमतीका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको भौगोलिक अखण्डता अक्षुण्ण रहेको स्पष्ट पार्नुभयो ।
[प्रधानमन्त्री ओलीको सम्बोधनको पुर्णपाठ]
माननीय मन्त्रीज्यूहरु,
आज राष्ट्रिय राजनीतिमा एउटा अत्यन्तै महत्वपूर्ण योगदान गर्ने र आफ्नै राजनीतिक जीवनलाई मुलधारको राजनीतितर्फ, र्निविर्वाद राजनीतितर्फ, राष्ट्रिय एकता र समृद्धिको राजनीतितर्फ स्पस्ट ढंगले मोडेर हस्ताक्षरीको रुपमा यहाँ प्रस्तुत सिके राउतज्यू ।
आज विशेष सम्बोधन गर्नेै पर्छ, अन्तर्राष्ट्रिय महिला दिवस । महिला दिदीबहिनीहरु र सम्पूर्ण सहभागी माननीयज्यू, साथीहरु र दाजुभाइ दिदीबहिनीहरु ।
आज एउटा विशेष दिन, यसै त यो अन्तर्राष्ट्रिय नारी दिवस, महिला दिवस विशेष दिन छँदै थियो । त्यसमाथि आज अर्को एउटा विशेष दिनको रुपमा नेपालको राजनीतिक इतिहासमा प्रकट भएको छ ।
म यस कामलाई सफल पार्नको निम्ति योगदान गर्ने सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । विशेष गरेर सिके राउतजीलाई । जसमा असाधारण निर्णय क्षमता मैले देखें । मैले त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहाल प्रचण्डजीमा देखेको छु । उहाँले हतियार उठाउने ठाउँबाट, जनयुद्धका ठाउँबाट युद्ध विराम, शान्ति वार्ता, शान्ति प्रक्रिया, संसदमा सहभागिता, सरकारमा सहभागिता, चुनावमा सहभागिता, संविधान बनाउने कुराको एक ढंगले अगुवाइ गर्नु भयो । त्यसपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता गर्ने कुरामा निर्णय भयो । जोसुकैले सानो मुटुकोले, सानो हिम्मतकोले यस्तो गर्न सक्दैन् । मैले सिके राउतजीमा पनि त्यो अलिकति त्यस्तो छाँटकाँट देखें निर्णय क्षमता भएको ।
हामी सबैलाई थाहा छ, उहाँ एक पृथक धारको राजनीति, उहाँका दुईओटा पाटा थिए । एउटा पाटा सदैव प्रशंसायोग्य रह्यो । उहाँले शान्तिपूर्ण बाटोको सधै पक्षपोषण र वकालत गर्नु भयो र यसमा अडिग रहनु भयो । त्यो एउटा सकारात्मक पाटो रह्यो । अर्को पाटो थियो, जसलाई हामी पृथ्ककतावादी धार भनिरहेका थियौं । आज यहाँहरुले सुन्नु भयो, उहाँले समग्र राष्ट्रिय एकता जातीजाती, भूगोल भूगोल, क्षेत्र क्षेत्र, धर्म धर्म अनेक नाममा लडाउने कुराको विरोध गर्नु भयो । लडाउने कुरा नै अनुपयुत्त हो, लड्ने कुरा नै अनुपयुत्तता हो भन्नु भयो । त्यसकारण राष्ट्रिय एकता र राष्ट्रिय समृद्धिको राजनीतिमा आफू प्रवेश गरेको बताउनु भएको छ । अब यता र यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ । यो साधारण निर्णय होइन् । महत्वपूर्ण निर्णय गर्नुभएको छ । म उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँलाई बधाइ भन्न चाहन्छु ।
उहाँ एउटा वेयल एजुकेटेड, इन्जिनियर, साइन्टिस्ट । कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि मलाई पनि अलिकति डर थियो । तर खुसी लाग्यो टेक्नोक्र्याट मात्रै होइन एउटा थिङकर पनि हो सिके राउत । तसर्थः उहाँले त्यो निर्णय गर्न सक्नु भयो ।
आज नेपाली जनताको लोकतन्त्रमा जनताको अभिमत, जनता सार्वभौसत्ता सम्पन्न हुन्छ र जनताको अभिमत सर्वोपरी हुन्छ । र, जनताको अभिमत कहिले, कसरी प्रकट हुन्छ हामीले देखिरहेका छौं । जनताको अभिमत कहिले आन्दोलनको रुपमा प्रकट हुन्छ । ००७ सालमा जनताको अभिमत प्रकट भयो, राणा शासन फालियो । जनताको अभिमत प्रकट भएको हो । यद्यपी ००७ सालको आन्दोलन शान्तिपूर्ण मात्रै थिएन् । त्यतिबेला आन्दोलन शान्तिपूर्ण मात्रै हुनै सक्दैनथ्यो । शान्तिपूर्ण आन्दोलन हँुदा त ९७ सालमा चारजना शहीद भए, कसैलाई गोली ठोकेर कसैले झुण्ड्याएर मारेकै थियो । त्यतिबेला शान्तिपूर्ण ढंगले जनताका आकंक्षाहरु बोल्नै दिइदैनथ्यो । त्यसकारण जनताले फरक ढंगले प्रतिवाद गर्नु जायज थियो । ००७ सालमा एकपटक जनताको अभिमत बेग्लै ढंगले प्रकट भयो । त्यसपछि जनताको अभिमतलाई फेरि दबाइयो । जनताको धारणा, नेपाली जनताको आंकक्षा आदि इत्यादी भन्दै चुनावबाट जितेको सरकार संसद भंग गरेर तानाशाही थोपरियो । त्यसबेला जनताको अभिमत भन्नु छली कुरा थियो । ढाँट कुरा थियो त्यो । त्यसका विरुद्ध जनताले लामो समय आफ्नो अभिमत प्रकट गर्न खोजे । तर तानाशाहीले रोक्यो । ०४६ सालमा फेरि जनताको अभिमत प्रकट भयो । त्यस अभिमतलाई सफलतामा पु¥याइयो । तर पूर्ण सफलतामा पु¥याउन सकिएन, विस्तार गर्न सकिएन ।
अब त्यसपछि फेरि ०६१ सालमा जनताले ०४६ सालमा प्राप्त गरेका अधिकार पनि खोसिए । फेरि ०६२।०६३ मा जनताको अभिमत हिंसाका शान्तिपूर्ण ढंगले प्रकट भयो । किनभने शान्तिपूर्ण ढंगले नै हिंसालाई पराजित गर्न सक्ने जनताको शक्ति बनिसकेको थियो र प्रतिक्रियावादीहरुको शक्ति हिंसाबाट पनि आफूलाई जोगाउन नसक्ने कमजोर हालतमा पुगिसकेको थियो ।
तत्कालिन माओवादीले हिंसा किन छोड्यो ? त्यसको सैद्धान्तिक निश्कर्ष यही हो । हिंसाको बाटो नअपनाएर शान्तिपूर्ण बाटोबाट पनि, हिंसा विना आएपनि प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सकिन्छ । त्यसकारण अब हिंसा अपनाइरहनु पर्ने आवश्यकता छैन् । त्यो निश्कर्षमा माओवादी पनि पुग्यो । त्यसयता अब हिंसाको औचित्य र सन्र्दभ सम्पूर्ण रुपमा समाप्त भयो । किनभने जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । संविधान जननिर्वाचित प्रतिनिधिहरुबाट, ८० प्रतिशत मतदान भएर बनेको संविधान सभाबाट संविधान बन्यो । संविधानले जनतामा सार्वभौमसत्ता सुनिश्चित ग¥यो । सङ्घीय प्रणाली, लोकतन्त्रका सम्पूर्ण मुल्य मान्यता त्यसमा वेस्ट मिन्स्र्टस सिस्टम भन्दा बढी संसदीय प्रणाली भएपनि त्यति मात्रै होइन् समानुपातिक सहभागिता र समावेशीता समेत समेटेको संसदीय प्रणाली स्थापित भयो । यो हामीले अपनाएको प्रणाली व्रिटिस संसदीय प्रणाली मात्रै होइन् । ठ्याक्कै त्यसको प्रणाली, त्यसको नक्कल पनि होइन् । त्यो सँग मेल पनि खाँदैन् । हाम्रो पृथक छ र सबै तहका जनता– समान अधिकार, समान अवसर, सबै क्षेत्रका, सबै पेशा व्यवसायका जनता–समान अधिकार, समान अवसर, बराबरी सुरक्षा र उत्तिकै सम्मानका हकदार छन् भन्ने कुरा संविधानले व्यवस्था गरेको छ ।
संविधानले मौलिक हकका रुपमा धारा १६ देखि ४८ सम्म ३३ ओटा धाराको व्यवस्था गरेको छ । त्यसमा दुई ओटा धारा कार्यान्वयनका सम्बन्धमा छन् र ३१ ओटा धाराहरुलाई मौलिक हकका निम्ति छुट्टयाइएको छ । सबै मौलिक हकहरुलाई समेटेर मौलिक हक कार्यान्वयन सम्बन्धी १६ ओटा कानूनहरु बनिसकेका छन । र, सम्पूर्ण स्वाधिनता, स्वतन्त्रता, प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, सम्पत्तिका हकदेखि लिएर विभिन्न स्वतन्त्रताका हकहरु मौलिक हकका रुपमा समेटिएका छन् । नागरिक अधिकार, मानव अधिकार सबै कुरा संविधानले प्रत्याभूत गरेको छ । कुनै कुरामा चित्त बुझेको छैन् भने त्यो लोकतान्त्रिक विधिबाट, शान्तिपूर्ण ढंगले नै जनताका बीचमा लाने र जनताको अभिमत प्राप्त गरेर सरकार गठन गर्ने, संसद निर्माण गर्ने, संसदको माध्यमबाट कानून निर्माण गर्ने, संसदको माध्यमबाट संविधान परिवर्तन गर्ने, संविधान संशोधन समेत गर्ने अधिकार संविधानले दिएको छ । ती समेतका सारा हक अधिकारहरु सार्वभौमसत्ता सम्पन्न जनतामा निहित छन् ।
यस कारण अब न हिंसाको आवश्यकता छ । न अरु कुनै बाटोको आवश्यकता छ । न आफ्नो आग्रहलाई जनताको इच्छा भन्दै जनतामाथि थोपारने कुनै औचित्य छ । त्यसकारण आजको आवश्यकता अब संविधानले भनेको, संविधानले देखाएको, संविधानले व्यवस्था गरेको, संविधानले प्रत्याभुत गरेको बाटो र मुल धारको राजनीति शान्तिपूर्ण, लोकतान्त्रिक, बहुदलीय राजनीतिक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रणको व्यवस्था लगायतका लोकतान्त्रिक मूल्य मान्यता समेतका कुराहरु नै आजका आवश्यकता हुन् ।
त्यसैकारण आज सिंगै देशलाई चाहिएको, संविधानले भनेको, सरकाले भनेको र सिंगै देशलाई चाहिएको कुरा के हो भने देशको सार्वभौमसत्ताको सुरक्षा र सम्मान । अनि देशको स्वाधीनताको सुरक्षा, सम्मान र कार्यान्वयन । स्वाधीन देश छ तर आफ्नो स्वाधीनताको हकको, स्वतन्त्रताको कार्यान्वयन गरिंदैन भने त्यो सही कुरा हुन सक्दैन् । त्यसको कार्यान्वयन हुनु पर्दछ ।
देशको भौगोलिक अखण्डता, देश अविभाज्य छ र देशको भौगोलिक अखण्डता अक्षुण्ण रहन्छ । देशको एक इञ्च जमिन पनि छुट्याउन, टुक्राउन, कसैलाई दिन मिल्दैन् । त्यसमा कुनै सहमती, कुनै सम्झौता वा कुनै सहनशीलता हुन सक्दैन । त्यो देश विरोधी काम हुन्छ ।
त्यसकारण मुख्य कुरा सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता । यसपछि देशका हितहरुको रक्षा । हाम्रो देश अत्यन्त स्वाभिमान राख्न लायकको देश हो किनभने दुनियाँका ठूलाठूला देशहरु उपनिवेश हँुदा यो देश स्वाधीन रह्यो, स्वतन्त्र रह्यो । यो त्यस्तो देश हो ।
यो भूभाग विद्धान पुर्खाहरु, ज्ञान सिर्जना गर्ने, सङ्ग्रह गर्ने, संगठित गर्ने, विस्तार गर्ने ज्ञानी विद्धान पुर्खाहरुको देश हो । र, नझुक्ने स्वाभिमानी नेपालीहरुको देश हो । प्राकृतिक हिसाबले सुन्दर मात्रै होइन्, अत्यन्तै उर्वर, स्रोतहरुले भरिपूर्ण । हामीले उपभोग गर्न सकेका छैनौं होला । त्यो बेग्लै कुरा हो । तर गौरव गर्न लायकको स्तुत्य यो देश, यो भूगोल, यसको इतिहास । त्यसकारण राष्ट्रिय गौरव हामी किन भन्छौं । यस कुरालाई हामीले बढाएर लिएर जानु पर्दछ । सुदृढ गर्दै लिएर जानु पर्दछ ।
हामीले राजनीतिक आन्दोलनको, राजनीतिक प्राप्तिको एउटा अभियान टुङग्याएका छौं । अब सुशासन र समृद्धिको यात्रा हामीले नयाँ ढंगले अगाडि बढाएका छौं । यस यात्रामा एकपछि अर्को सरिक हुँदै छन् । सिके राउतजी र स्वतन्त्र तराइ–मधेस गठबन्धनसँग सरकारको आजको यी नै विषयहरुमा सहमतिका साथ एकता दिशाको एउटा नयाँ उचाइ थपिएको हो, नयाँ प्राप्ति हो ।
अब यसो भइसकेपछि, सरकारसँग अलिकति सन्देह हुन सक्छ, एउटा अलिकति फरक धारमा अघिसम्म रहेको समूहलाई हाम्रा कार्यकर्ता छुट्छन् छुट्दैनन्, समात्तिने हुन् कि आदि । सरकार समस्याको समाधान चाहन्छ । सरकार देशका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई आफ्नै दाजुभाइ दिदीबहिनी ठान्छ । देशमा शान्ति र सुव्यवस्था कायम होस्, सबै मिलेर, एक अर्कालाई सघाएर राष्ट्र निर्माणको काममा शान्तिपूर्ण ढंगले अगाडि बढौं भन्ने चाहन्छ ।
मैले अस्तिका दिन दुई ओटा घटना देखें, अदालतले एउटा मुद्दा फैसला ग¥यो । राज्यको अंग हो अदालत, तर सरकारको अंग होइन् । सरकारले अदालतलाई निर्देशन दिन सक्दैन् । अदालतले न्याय कानूनसम्वत ढंगले हेर्ने हो । घटना आदि इत्यादिलाई लिएर । अदालतले एउटा फैसला ग¥यो । एउटा राजनीतिक पार्टीले बहुत उत्खन्न गरेर तिलका दाना पनि टिपेको छ, तोरीका दाना पनि टिपेको छ, मकैका दाना पनि टिपेको छ । त्यान्द्रा तुन्द्री जोडेर सरकारका विरुद्ध अभियोग पत्र तयार गरेर समर्थन फिर्ता लिने निर्णण एकछिन पछि ग¥यो । अदालतको फैसला बेग्लै कुरा हो । सरकारको काम बेग्लै कुरा हो । अब त्यो नछुट्याएर हिन्दीमा त भन्छन नि खिसियानी बिल्ली खम्बा नोचे । विरालो रिसायो भने मान्छेलाई चिर्थोेन मिल्दैन कुटिहाल्छ । त्यसकारण गएर खाबो चिर्थोछ । अदालतले फैसला ग¥यो अब चिर्थोन सरकार तिर आइपुगे ।
यो म कसैलाई पनि, साथीहरुलाई आवेश उत्तेजनामा नआउन आग्रह गर्न चाहन्छु । आवेश, उत्तेजनामा नआऔं र आवेश उत्तेजनाको राजनीति नगरौं । अनेक तिर र फाटो तिर नजाऔं । असमझदारी बढाउने तिर नजाऔं । आरोप प्रत्यारोपको सिलसिला बुँदा र संख्या थपेर नजाऔं । फेहरिस्त बनाएर नजाऔं । आज बिहान मात्रै म रेडियो सुन्दै थिए, तराइको पृथकतावादीलाई, देश टुक्राउछुँ भन्नेलाई अदालतले छोड्ने, हामीलाई चाहि समातेर थुन्ने भनेर उफ्रिदै हुन ुहुन्थ्यो उहाँहरु । अब त्यो कुरा पनि अहिलेबाट चाहीं फित्रिक्क भयो । देश टुक्राउने भन्ने कुरा समाप्त भयो आरोपको । यस्तो कुराहरुमा आवेश, उत्तेजना आदिबाट नजाऔं ।
म यस अवसरमा सबै राजनीतिक पार्टीहरु, शक्तिहरु, पक्षहरु सबैलाई आग्रह गर्न चाहन्छु, यो देश निर्माण गर्ने बेला हो । अहिले देशमा सुशासन र विकासको एउटा लहर चलाउने बेला हो । फेरि विभिन्न बाहना बनाएर, विभिन्न निहूँ खोजेर, विभिन्न अत्तो थापेर आफ्नो राजनीतिक अस्तित्व देखाउने अथवा त्यतापट्टि, तनावतिर देशको राजनीतिलाई लाने बेला होइन् । सरकार अत्यन्तै फराकिलोपनका साथ अगाडि जान चाहन्छ । विकासमा केन्द्रीत हुन चाहन्छ । जनताका समस्या समाधान गर्न चाहन्छ ।
अहिल भ्रष्टाचारका विभिन्न मुद्दाहरुमा कारबाही भइरहेको छ । त्यसलाई देखाएर भ्रष्टाचार बढेछ भन्न मिल्दैन । हिजो कारबाही नै हुदैनथ्यो समस्या त्यो हो । हिजो कारबाही हुदैनथ्यो । आज कारबाही हुन्छ, कारबाही गरिन्छ । मैले भनेको छु, भ्रष्टलाई छोडिन्न, कारबाही गरिन्छ । पिर त्यहीं छ केही मान्छेलाई । अनि भ्रष्टाचार देखियो नि, हँुदो रहेछ भन्यो, करायो । अनि विभिन्न संस्थाहरुमा पो देखियो । हो त्यही देखिएर कारबाही गरिएको हो । पहिला न छानबीन गर्ने, न हेर्ने, न कारबाही गर्ने थियो अवस्था । अहिले त्यस्तो छैन् । हेरिन्छ, छानबीन गरिन्छ, कारबाही गरिन्छ । त्यसकारण अहिले विकासको बाटोमा लाग्नु छ ।
हल्ला चलाइएको छ, अहिले पानी जहाज किन चाहियो ? किन चाहियो पानी जहाज ? मानि लिऔं देशको सबै बजेट पानी जहाजमा हालेको जस्तो । सबै कर्मचारी पानी जहाजमा लगेर हालेको जस्तो । साधन स्रोत पानी जहाजमा लगेर खन्याए जस्तो । पानी जहाजका लागि त जम्मा १६ जना कर्मचारी खटाएको छ । पानी जहाज हुन आट्यो भने के पिर प¥र्यो त ? चार रुपैया दस पैसामा ल्याउने भाडा, एक रुपैया दस पैसामा आउँछ भने, त्यो भन्दा सस्तो पर्न जान्छ भने राम्रो भएन ? रेलका कुरा किन गरेको, बाटोको कुरा किन गरेको ? यो बताइदिनुस मलाई भातभन्दा पहिला रेल कसलाई चाहिन्छ, कहिले चाहिन्छ ? पछि पनि त त्यही होला नि त । पहिले त खानै खान पर्छ होला । त्यसपछि पानी जहाजका र बाटाका कुरा गर्नै भएन । पहिले खान खानु प¥यो नि कलेजका, विश्वविद्यालयका कुरा किन गरेको भन्ने ? सबै कुरा गर्नु पर्छ । भ्रम फिजाउने कुरा गरिराखेका छन्, म यतापट्टि सबैलाई आग्रह गर्न चाहन्छु त्यस भ्रममा नपरौं । अनावश्यक ढंगले कतै ध्यान गएको छैन् । ठिक ढंगले हाम्रो ध्यान जहाँ जानु पर्ने हो, त्यहाँ गइराखेको छ । हरेक कुराको विरोध गर्ने बानी अहिले देशका लागि यो कुरा हितकर हुदैन् ।
म सबैलाई आग्रह गर्न चाहन्छु । र, म नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा । विप्लव समूह भन्ने छ एउटा । कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ कमसेकम., ‘आफूले पनि नेकपै भन्नु प¥या छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’ म भन्न चाहन्छु उहाँहरुलाई । उहाँहरुका पर्चा पनि म हेरिराखेको छु । बन्दूक, गोली, एसएमजी, एलएमजी अनेकसँग मान्छे समातिएको छ । ए जनतालाई दमन गर्न पाइन्छ ? सरकारले के खोजेको यो, सर्वसाधरण माथि दमन गर्ने । खान तलासी गर्न पाइन्छ ? भनेर प्रचार गर्न खोजिएको छ । बन्दुक भित्र राखेर बस्ने । मान्छे लुटेर हिड्ने चन्दाका नाममा । मान्छेको हत्या गरेर हिड्ने । विस्फोट गराएर हिंड्ने । कम्युनिष्ट पार्टीको नाम लिने ? कमसेकम कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर । लुटेरा समुह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समुह विप्लव राखे पनि हुन्छ । प्रकाण्ड लुटेरा समुह भने पनि हुन्छ । तर यो भएन म उहाँहरुलाई भन्न चाहन्छु, अझै पनि भन्न चाहन्छु, त्यो बाटो छोड्नुस । नत्र यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ । म तपाईंहरुलाई सुन्ने गरि भन्न चाहन्छु । सरकारले गर्छ त्यो काम ।
अब हामी एउटा राष्ट्र निर्माणको अभियानमा छौं । आजबाट झन बढी सुदृढ, झन बढी व्यापक भएका छौं । सिके राउत देखाएर तराइमा स्वार्थका रोटी सेक्नेहरु धेरै थिए । तिनका रोटी काँचै पल्टिने भए । देखाउने सिके राउत रोटी सेक्ने आफू । हामी देखिरहेका थियौं ।
कहीं ढु्ङ्गा हानियो भने शान्तिपूर्ण राजनीतिक भनेर, आफुमाथि लाठी चार्ज भयो भनी गुलाफको फूल दिनुपर्छ भन्ने नीति बोक्ने सिके राउत समुहले ढुंगा हान्यो भन्ने आरोप लगाउने त थिए नि । जिम्मा नलिने त थिए नि । सबै समाप्त भयो आजदेखि ।
अब हामी सबै, राष्ट्रिय एकता । नेपाल एउटा राष्ट्र हो, एउटा देश, एउटा राज्य, एउटा सरकार । त्यो सरकारका विभिन्न तह, संघीय तह, प्रादेशीक तह, स्थानीय तह, अनेक तहहरु छन । त्यही एउटै सरकार हो–नेपाल सरकार । त्यसकारण त्यसको सरहद, त्यसको भूमि, त्यसको जनसख्या, भर्खर जन्मिएकादेखि अत्यन्त जेष्ठ उमेरकासम्म सबै जातिका, जनता सबै भाषा बोल्ने जनता, सबै आस्था विश्वास राख्ने जनता, सबै भूगोलका, सबै पेशा व्यवसाय अपनाउने जनता, सबैको समग्रता–नेपाल । सबैको समृद्धी नेपालको समृद्धि । सबैको सुख नेपालको सुख । त्यही हाम्रो मूल मन्त्र । त्यस मूल मन्त्रमा हामी एकताबद्ध भएर अगाडि बढने अठोट गरेका छौ । आजको हस्ताक्षर त्यही हो ।
म यस अभियानमा सिके राउतजीको पार्टीका साथीहरु, उहाँका पार्टीका कार्यकर्ताहरुलाई द्विविधामा नपर्न, नअल्मलीन, कुनै आशंका नलिन आग्रह गर्दछु ।
हामीले भनेका छौ, हिजोका कुरा छोडी दियौं । अब मुलधारको राजनीति संविधान सम्वद्ध राजनीति, शान्तिपूर्ण लोकअभिमतको राजनीति, अबको राजनीति । त्यसकारण यस एकतातर्फको अभियान, राष्ट्र निर्माणतर्फको अभियानमा म सवैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । स्वागत गर्न चाहन्छु र आग्रह पनि गर्न चाहन्छु । र, यस कार्यक्रमका आयोजनका लागि गृह मन्त्रालयलाई धन्यवाद भन्न चाहन्छु । हस्ताक्षरकर्ता गृह मन्त्रीज्यू र सिके राउतज्यूमा फरि एकपल्ट हार्दिक धन्यवाद दिदै महिला दिदीबहिनीहरुलाई फेरि एकपल्ट महिला दिवसको सन्र्दभमा धेरै धेरै शुभकामना । धन्यवाद !
प्रतिक्रिया दिनुहोस्