काठमाडौं,१७ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुत राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ ।
विहिबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिपक्षी दल कांग्रेसका सदस्यले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो । अनसनरत डाक्टर गोविन्द केसीसंग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए ।
बैठकको सुरुमै सभाअध्यक्षको अनुमति लिएर बोलेका सांसद जितेन्द्र नारायण देवले डाक्टर गोविन्द केसीसंगको सहमति कार्यान्वयन नभएसम्म सदनको कारवाही अघि नबढाईयोस् भनी सभाध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।
सरकार आफैले गरेको सम्झौता कार्यान्वयन नहुंदा जनतामा नकारात्मक संदेश जाने भएकाले आफैले गरेको सहमति, सम्झौता पालनामा नैतिकता देखाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
डाक्टर गोविन्द केसीको माग सम्बोधन भएन भने मुलुकमा राजनैतिक दुर्घटना हुन सक्ने खतरा रहेको भन्दै परिस्थितिलाई गंम्भीर ढंगले बुझ्न र वार्ता टोली गठन गरि समस्याको निकास निकाल्न र त्यसको नेतृत्व प्रधानमन्त्रीले आफैले गर्न पनि उहा“ले माग गर्नुभयो ।
विधेयकमाथि संसोधन दर्ता गराएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृषेशचन्द्र लालले सरकारले गरेका सहमति र सम्झौताको अक्षरस पालना गर्नुपर्ने बताउनुभयो । विधेयकमाथि सांसदहरु वृषेशचन्द्र लाल, सरिता प्रसाई र राधेश्याम अधिकारीले संसोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
कांग्रेसले विरोध जनाईरहेकाले सासदहरु प्रसाई र अधिकारी प्रक्रियामा सहभागी हुनुभएन । अर्को बैठक आईतबार अपरान्ह १ बजे बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्