काठमाडौं, १३ माघ । आज देशभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुनुका साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । उपत्यकामा अहिले बाक्लो कुहिरो लागेको छ । कुहिरोका कारण भिजिविलिटी २ सय मिटरमा झरेको छ ।
काठमाण्डौको आज बिहानको न्युनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । यता, शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, स्याउखर्क, भत्कडा, स्याउले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउ जमेको थियो ।
राजमार्गमा जमेको हिउ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई शनिबार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि बेलुकीबाट यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्