काठमाडौँ, १२ माघ ।प्रतिनिधिसभाले बहुचर्चित चिकित्सा शिक्षा विधेयक पास गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको असन्तुष्टिको बाबजुद विधेयक बहुमतले पास गरिएको हो ।
सत्तारुढ सांसदहरुको अनुसार यो विधेयकले डा. केसीका ९५ प्रतिशत माग पुरा गरेको छ । यस विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ । आशयपत्र लिएर पूर्वाधार पुरा गरेका मेडिकल कलेजहरुलाई उपत्यका बाहिर सरकारले तोकेकोमा जान सरकारले प्रोत्साहन गर्नेछ । साथै एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउनेछ ।
यो बुँदाहरु माथेमा कार्यदलको सिफारिस र डा। गोविन्द केसीसँग भएको सहमति पनि हो । सरकारले ५ वर्षभित्र मेडिकल विश्वविद्यालय खोल्ने र सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा एउटा सार्वजनिक मेडिकल कलेज खोल्ने उल्लेख छ ।
त्यसका साथै सहिद परिवार, द्धन्द्ध पीडित जनआन्दोलनका घाइते लगायतलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । साथै १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामुलक बनाउने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्