काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएको छ ।
कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको थियो ।
मन्त्री पोखरेललाई मर्यादापालकले रोष्टममा पुयाएका थिए । विधेयकमाथिको छलफलमा कसैले पनि भाग लिएनन् । लगत्तै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संसदबाट पास भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीको नाममा रहेका दुई वटा अस्पताललाई केन्द्र मातहत नराखेको भन्दै गरिरहेको संसद अवरुद्धकै बीच विधेयक पारित भएको हो ।
प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद् पुष्पा भूसालले बहुमतको बलमा संसदमा प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्न नहुने भन्दै सरकारलाई चेतावनी दिनुभएको थियो । भूषालले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संशोधन गर्नुपर्ने भन्नै विगतमा भएका सहमतिको कार्यान्वयन गर्न सत्तापक्ष चुकेको आरोप समेत लगाउनुभयो ।
कांग्रेसको नारबाजीकै बीचमा रोष्टममा पुग्नुभएका शिक्षा मन्त्री पोखरेलले संसदमा विधेयक पेश गर्नुभएको थियो ।
संसदमा बहुमतको आधारमा पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन कानून बन्ने छ ।
लामो समयदेखि विवादमा रहेको विधेयककै विषयमा यसअघि कांग्रेसले दुई पटक प्रतिनिधि सभा बैठक अवरुद्ध गरिसकेको छ भने एक पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको थियो । संसदको अर्को बैठक माघ १७ गते बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्