काठमाडौं,११ माघ । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताउनु भएको छ ।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अव आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुःखी नेपाली’को अभियानलाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उहाँले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन, कानुनलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको जगमा संघीयता, समावेशितालगायतका सिद्धान्तलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने पनि बताउनु भयो । उहाँले बोक्सी, दाईजोलगायतका सामाजिक कूरुतिविरुद्ध अभियाननै संचालन गरेर अघि बढने योजना पनि अघि सार्नु भयो ।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न महिलाहरुको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराउनु भयो ।
२ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एशीयाली क्षेत्रमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्