काठमाडौं,१२ पुस । प्रधानन्यायाधिशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराविरुद्ध नौं वटा उजुरी परेको छ ।
संसदीय सुनुवाई विशेष समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधिशमा प्रस्तावित जबराविरुद्ध परेको नौं वटा उजुरी अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको हो ।
बैठकले शुक्रबार अपरान्ह ३ बजे उजुरीकर्ताहरुलाई छलफलका लागि बोलाउने कार्यतालिका पनि तय गरेको छ । उजुरी कर्तासँगको छलफलपछि प्रधानन्यायाधिशमा प्रस्तावित जबराको सुनुवाईको मिति तय गर्ने निर्णय पनि गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।
समितिका सदस्यहरुले सो उजुरीको अध्ययन गरेपछि शुक्रबार (भोली) बस्ने बैठकमा उजुरीकर्तासँग छलफल गरिनेछ । संवैधानिक परिषदले यही पुस १७ गतेबाट प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले अवकाश पाउने भएपछि सर्वोच्च अदालतका न्यायाधिश जबरालाई प्रधानन्यायाधिशमा सिफारिस गरेको थियो ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधिशमा प्रस्तावित जबरालाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यस अघि संसदीय सुनुवाई समितिले अस्विकृत गरेका कारण सर्वोच्च अदालतको वरिष्ठ न्यायाधिश दिपकराज जोशी भने प्रधानन्यायाधिश बन्ने अवसरबाट बञ्चित हुनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्